मकवानपुरको थाहा नगरपालिका–९ देउरालीमा निर्माण गरिएको भ्युटावर उद्घाटन गरिएको छ। बुधबार एक समारोहकाबीच बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नवनिर्मित भ्युटावरको उद्घाटन गरे।
प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा निर्माण भएको भ्युटावरको संरचना उद्घाटन गरेर थाहा नगरपालिकालाई जिम्मा लगाइएको छ। देउरालीमा रहेको भ्युटावरबाट काठमाडौँको अवलोकन गर्न सकिनेछ।
प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम’ अन्तर्गत भ्युटावर निर्माण कार्य थालिएको थियो। तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले निर्माण कार्य सुरु गरेको भ्युटावरमा क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस र सपोर्ट फेसिलिटी निर्माण गरिएको छ। उक्त संरचना निर्माणका लागि दुई चरणमा गरी कुल ५ करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ खर्च भएको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ।

कार्क्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई ‘आर्थिक र विकासको साझेदार’ का रुपमा अघि बढाउनु पर्ने बताए। उनले संघीयता कार्यान्वयनमा प्रदेश र स्थानीय तहले प्रशासनिक क्षेत्रमा मात्र नभई आर्थिक तथा विकासका काममा सहकार्यको नयाँ नीति अवलम्वन गर्नुपर्ने बताए।
मुख्यमन्त्री बानियाँले प्रदेशले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत बजेट बेहोर्ने गरी विकासका ठूला आयोजनामा साझेदारी गर्न सकिने बताए। विगतमा प्रदेश सरकारले बनाएका कतिपय संरचनाहरू व्यवस्थापनको अभावमा बेवारिसे बनेको र ती संरचनाहरू स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने अवस्था रहेको उनले बताए।

‘स्थानीय तहले योजनाको अपनत्व लिउन् भन्ने प्रदेशको चाहना हो। तपाईँहरूले ३ करोडको हिम्मत गर्नुभयो भने प्रदेश सरकार ७ करोड थपेर १० करोडको आयोजना सम्पन्न गर्न तयार छ। यसले स्रोतको सही सदुपयोग र विकासमा तीव्रता दिनेछ’ उनले भने, ‘प्रदेशले विकास र संरचना बनाएर मात्र हुँदैन। त्यसलाई जोगाउने र चलाउने काम स्थानीयले लिनुपर्छ। थाहा नगरमा बनेको यो संरचना अब नगरपालिकाको सम्पत्ति हो। यसको सफल सञ्चालनले नै संघीयतालाई बलियो बनाउँछ।’
यता, पर्यटन मन्त्री सुरेश श्रेष्ठले भ्युटावर हस्तान्तरण गर्ने कार्यलाई मन्त्रालयले तीव्रता दिइरहेको बताए। निर्माण सम्पन्न भएर अलपत्र अवस्थामा रहेका हिल स्टेसन र कम्युनिटी हल जस्ता पर्यटकीय संरचना सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको बताए।

‘राज्यको ५ करोड भन्दा बढी रकम खर्च भएको संरचना अलपत्र परेको देखेर मैले नगरप्रमुखज्यूसँग सल्लाह गरेर सञ्चालनमा ल्याउने सल्लाह गरेँ,’ मन्त्री श्रेष्ठले भने, ‘मेयर साब, वडाध्यक्षज्यू, स्थानीय बासिन्दाहरूको सहयोगले हामीले भ्युटावर उद्घाटन गरेर हस्तान्तरण गर्न पायौं।’
भ्युटावर सञ्चालनमा आएपछि थाहा नगरलाई पर्यटकीय हबको रुपमा विकास गर्न थप मद्दत पुग्ने मन्त्री श्रेष्ठले बताए।

पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीका अनुसार बागमती प्रदेशमा मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखा गरी ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण गरेका छ। ती भ्युटावर निर्माणमा प्रदेश सरकारले ३२ करोड ८४ लाख ३ हजार ३ सय ३९ रुपैयाँ खर्च गरेको सचिव सुवेदीले बताए।
मन्त्रालयले निर्माण सम्पन्न गरेर थाहा नगरपालिकालाई हस्तान्तरण गरेपछि अब यसको सञ्चालनको जिम्मा नगरपालिकाले लिने थाहा नगर प्रमुख विष्णु विष्टले बताए। अबको कही दिनमै सञ्चालनका लागि टेन्डर खुलाउने उनको भनाइ छ।
Shares

प्रतिक्रिया