राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई ‘प्रचण्डवादी’ कि ‘बीपीवादी’, प्रस्ट पार्न आग्रह गर्दै नौबुँदे खुलापत्र लेखेका छन्।
बुधबार सामाजिक सञ्जालमा पत्र लेखेका मिश्रले कोइरालाविरुद्ध ‘ल्याङल्याङे पारा’ले राजनेता बन्न नसकिने कटाक्ष पनि गरेका छन्।
‘प्रस्ट भन्नूस्- म प्रचण्डवादी हुँ भनेर कि प्रस्ट भन्नूस- म बीपीवादी हुँ भनेर’, पत्रको बुँदा नम्बर ९ मा मिश्रले लेखेका छन्, ‘यता पनि ठिक्क, उता पनि ठिक्कको राजनीति तपाईँलाई सुहाउँदैन। यस्तो ल्याङल्याङे पाराले संसारमा कोही पनि राजनेता भएका छैनन्। बाँकी तपाईँको इच्छा।’
यस्तो छ मिश्रले कोइरालालाई लेखेको नौबुँदे पत्र :
डा. शेखर कोइरालालाई
अलि खरो ९-बुँदे खुलापत्र!
पहिले, उहाँको भनाइ :
-देशलाई अभिभावकको खाँचो छ।
-देशको राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा छ।
-राष्ट्रियता र प्रजातन्त्रसँगै लैजान नसके नेपाल बच्दैन।
-प्रजातन्त्र/लोकतन्त्र 'छाडातन्त्र' भइसकेको छ।
अब मेरो अलि खरो पत्र :
पत्रको सुरु नै यसरी गरौँ- देशको अवस्था त्यति खराब छ भने तपाईँ ‘गर्न सक्ने’ ठाउँमा भएको मान्छे, के हेरेर बस्नुभएको?
कांग्रेस सभापति बन्न पाइन्न कि, प्रधानमन्त्री बन्न पाइन्न कि भनेर आत्मकेन्द्रित चिन्तनबाट तपाईँसमेत ग्रस्त भएको देख्दा मेरो तपाईँप्रतिको सम्मानमै प्वाल पर्न लागिसक्यो, जुन म चाहन्नँ।
१. बीपी कोइरालाको सच्चा अनुयायी भएर तपाईँ सबैभन्दा माथि देशलाई राख्ने कि पदलाई? के बीपीले त्यही सिकाएका थिए तपाईँलाई? विचारभन्दा माथि देशलाई राखेका होइन बीपीले?
२. चुनावमा नयाँ-नयाँ मिले भने खुब बन्नुहोला तपाईँ प्रधानमन्त्री! सबै नयाँ नमिल्दा त तपाईँको पालो नआउलाजस्तो देखिसकियो। तपाईँचाहिँ 'आकाशको फल' हेरेर जहिले पनि ल्याङल्याङ कुरा गरेर बसिराख्नोस्।
३. बीपीजस्तै राजनेता हुनेभए ड्याम्म एउटा पत्रकार सम्मेलन गर्नोस्, 'यो, यो, यो' कारणले देश र कांग्रेसलाई 'बीपीपथ'मा लैजानैपर्ने भयो भन्नूस्। प्रचण्डको कमिजको फेर समातेर नबस्नोस्। तपाईँ सहजताका साथ कांग्रेस सभापति र प्रधानमन्त्री दुवै बन्नुहुन्छ।
४. प्रचण्डमार्गी कांग्रेसी, भूराजनीतिमा पोख्त छिमेकीले के भन्छन् र सभापति/प्रधानमन्त्री बन्न पाउँला/नपाउँला भनेर सोच्न छोडिदिनोस्।
५. छिमेकीले पनि जेनजी विद्रोहपछि नेपालमा राजसंस्था भएन भने त्यसको असर अब उनीहरूलाई समेत पर्छ भन्ने अलिअलि बुझिसके। अब केही समयमा पुरै बुझ्नेछन्। अनि त्यसपछि तपाईँ ‘मैले त राजालाई पूर्वराजा भन्दिन भनेकै थिएँ नि’ भन्दै लुरुक्क परेर मार्ग परिवर्तन गर्ने होला, होइन?
६. यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छ? यो पाराले तपाईँ प्रधानमन्त्री नै भए पनि तपाईँ सिंगो नेपालको होइन, प्रचण्डपथको अर्थहीन प्रधानमन्त्री हुने हो। तपाईँलाई देशको भन्दा प्रधानमन्त्री पदको माया?
७. देश यस्तो अवस्थामा पुग्दा पनि कोइरालाको रगत र बीपीको आस्था बोकेको मान्छेको हालत यस्तो देख्दा मलाई दु:ख लागेको छ।
८. देश नवीनसमझदारीमा जाने लगभग निश्चित छ। गएन भने बिस्तारै या अनपेक्षित रूपमा तपाईँले नै भनेझैँ अस्तित्व संकटमै जाने हो। त्यसैले ठूलो र बीपीको दलको नाताले नवीन समझदारीको नेतृत्व गरेर राजनेता बन्नोस्। होइन भने प्रचण्डको फेर समातेर हल्लिरनोस्! विराटनगर गएर ‘के सोचेँ मैले, के भयो अहिले’ भनेर गीत गाएर बस्नोस्।
९. कि प्रस्ट भन्नूस्- म प्रचण्डवादी हुँ भनेर, कि प्रस्ट भन्नूस्- म बीपीवादी हुँ भनेर। यता पनि ठिक्क उता पनि ठिक्कको राजनीति तपाईँलाई सुहाउँदैन।
यस्तो ल्याङल्याङे पाराले संसारमा कोही पनि राजनेता भएका छैनन्। बाँकी तपाईँको इच्छा!
तपाईँको शुभचिन्तक
रवीन्द्र मिश्र
Shares

प्रतिक्रिया