राजनीति


महाधिवेशनमा आएका प्रतिनिधि कार्यक्षेत्रमा नफर्केपछि एमाले महासचिवले दिए यस्तो निर्देशन

महाधिवेशनमा आएका प्रतिनिधि कार्यक्षेत्रमा नफर्केपछि एमाले महासचिवले दिए यस्तो निर्देशन

नेपालखबर
पुस ९, २०८२ बुधबार ८:५७, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनमा भाग लिन आएर काठमाडौंमै बसिरहेका नेता कार्यकर्तालाई आफ्नो कार्यक्षेत्र फर्कन निर्देशन दिएका छन्। 
 
देशैभरिका पार्टी प्रदेश कमिटी र जिल्लाको सचिवालयका सदस्यहरुलाई महाधिवेशनका सन्देशका सन्दर्भमा मंगलबार भर्चुअल सम्बोधन गर्दै उनले तुरुन्तै कार्यक्षेत्रमा फर्किन निर्देशन दिएका हुन्।

‘महाधिवेशनका लागि काठमाडौं आएर अझै यतै बसिरहनु भएका कमरेडहरु आफ्नो कार्यक्षेत्र फर्किनुहोस’ महासचिव पोखरेलले भने, ‘महाधिवेशनको सन्देश, नेतृत्व छान्न गरेको उन्नत लोकतान्त्रिक अभ्यासका बारेमा कार्यकर्तालाई बताउनुहोस्।’ 

एमालेको मंसिर २७ गतेबाट  सुरु भएको ११ औं भएको महाधिवेशन पुष ३ गते सकिएको थियो। 

महाधिवेशनका लागि आएका प्रतिनिधिसँगै निर्वाचित केन्द्रीय सदस्यहरुलाई पनि उनले कार्यक्षेत्रमा गएर पार्टी काममा लाग्न भनेका हुन्। 

महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजनको जिम्मा सचिवालयलाई दिएकोले विगतका कामको मूल्यांकनका आधारमा जिम्मेवारी दिइने बताए। 

‘विगतका कामको मूल्यांकनका आधारमा जिम्मेवारी दिइने भएकोले काठमाडौँमा यस्ता विषयमा नअलमलिनुहोस्,’ नेताहरुलाई उनले भने। 

पार्टीले जिल्ला जिल्लामा खबरदारी सभाहरु आयोजना गरिरहेकोले त्यसको तयारी र जनता जुटाउने कार्यमा लाग्न पनि उनले मातहतका कमिटीलाई आग्रह गरे।

‘हामीले विभिन्न जिल्लामा खबरदारी सभा आयोजना गर्दैछौँ। अहिले त्यसको नेतत्व जिल्लामा रहनु भएका सिनियर केन्द्रीय सदस्यले गर्नुहुनेछ’ पोखरेलले भन्नुभयो ‘प्रदेश र जिल्ला कमिटी कार्यकारी हुन्। उनीहरुले कार्यक्रम आयोजना गर्दछन्। त्यसैले कार्यविभावन भएको छैन भनेर नअलमलिन केन्द्रीय सदस्यहरुलाई पनि आग्रह गर्दछु,’ उनले भने।
 
महासचिव पोखरेलले दोस्रो विधान महाधिवेशनका दस्तावेज र ११ औँ राष्ट्रिय महाधिवेशनका सन्देश लिएर जनतामा जानुपर्ने बताए। 

नयाँ सन्देश सहित जनतामा जाँदा एकैचोटी दुईवटा तयारी हुने पोखरेलको भनाई छ।  ‘महाधिवेशनबाट उठेको मनोबल लिएर जनतामा गएपछि केही न केही नयाँ सन्देश दिन सकिन्छ,’ उनले भने,  ‘यसले आन्दोलन गर्नुपरे पनि आधार तय गर्दछ। चुनावमा जानु परे पनि आधार तय गर्दछ।’
 
उनले कतिपय जिल्लाका अध्यक्षहरु केन्द्रीय नेतृत्वमा प्रतिष्पर्धा गरेका कारण उनीहरुको पद स्वत रिक्त भएकोले त्यस्ता जिल्लाहरुले पनि पार्टी कामलाई असर नपर्ने गरी काम गर्न निर्देशन दिए।

 ‘सकेसम्म कार्यकारी कमिटीका नेताहरु उम्मेद्वार नबनुन् भन्ने चाहना  थियो’ उनले भने,  ‘तर केही जिल्ला अध्यक्षहरु उम्मेद्वार हुनुभयो। जसले गर्दा जिल्ला अध्यक्ष विधान बमोजिम रिक्त भयो। त्यस्ता ठाउँमा पनि पार्टी कामलाई असर नपर्ने व्यवस्था गर्नुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad