राजनीति


रवि-बालेनको मेलजोलले बढ्यो जेनजीको हौसला, अधिकांश भन्छन् : हामी पनि त्यही पार्टीमा लाग्छौँ

कसैको आशंका : प्रतिशोधका लागि मात्र मिल्न खोजेको त होइन?
रवि-बालेनको मेलजोलले बढ्यो जेनजीको हौसला, अधिकांश भन्छन् : हामी पनि त्यही पार्टीमा लाग्छौँ

जेनजी नेता सुदन गुरुङ, मोनिका निरौला, उपार्जुन चाम्लिङ र टासी ल्हान्जोम


आयुषा ढकाल
पुस ९, २०८२ बुधबार ७:५०, काठमाडौँ

सोमबार साँझ रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भएको भेटले नेपाली राजनीति तरंगित छ। कतिपयले आगामी चुनावमा नयाँ शक्तिहरू एकमत हुने सम्भावना देखिएको विश्लेषण गरेका छन् भने कतिपयले त चुनावपछि बालेन प्रधानमन्त्री बन्ने अड्कल समेत काटिसकेका छन्।

रविले बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने र पाँच वर्षपछि बालेनले आफूलाई समर्थन गर्नुपर्ने प्रस्ताव गरेको खबरहरू बाहिरिएका छन्। मंगलबार चितवनमा रविले छलफल त्यो चरणमा नपुगे पनि बालेनसहित कुलमान घिसिङ र सुदन गुरुङसँग पनि कुरा भइरहेको खुलासा गरे।

यो खबरबाट भदौको आन्दोलनपछि उदाएका विभिन्न जेनजी समूहका अगुवाहरू हौसिएका छन्। यद्यपि, केहीले रवि र बालेनको योजनामा प्रश्न उठाउँदै आशंका पनि व्यक्त गरे।

रवि लामिछाने​लाई भेटेर भनेको छु– तपाईंहरू नमिल्दा चुनाव जित्ने सम्भावना कम हुन्छ : सुदन गुरुङ
हामी नेपालका संयोजक सुदन गुरुङ उत्साहित सुनिए। उनले रवि, बालेन र कुलमानलाई मिलाउने अभियानमा आफू पहिल्यैदेखि लागेको बताउँदै भने, ‘उहाँहरू दुई जनाको एक चरणको मिटिङ भैहाल्यो, अब दोस्रो चरणमा चाहिँ सबै जना भेट्छौँ होला, त्यसका लागि योजना बन्छ।’

सोमबार भएको भेटवार्तामा आफू नगएको तर मंगलबार बिहान रवि लामिछानेसँग भेटघाट र कुराकानी भएको सुदनले बताए। अब रविसँग आफूहरू मिलेर जानुपर्ने, नत्र भने अरू केही सोच्नुपर्ने सुदन बताउँछन्।

‘बिहानको भेटमा मैले उहाँलाई तपाईंहरू नमिल्दा भोट विभाजित हुन्छ। भोट बाँडिँदा जित्ने सम्भावना कम हुन्छ भनेको थिएँ,’ सुदनले नेपालखबरसँग भने।

लामिछानेले पनि आफूहरू मिल्नका लागि तयार रहेको बताएको सुदनको भनाइ छ।

बालेन, कुलमान र रवि— तीनै पक्षबाट कस्तो कुरा आउँछ, त्यसपछि मात्र आफूहरू राजनीतिक रूपमा जाने कि नजाने, शक्ति एकीकृत गर्ने कि नगर्ने, कसलाई समर्थन गर्ने भन्ने कुरा थाहा हुने सुदनले बताए।

‘राजनीतिमा गएपछि धेरैजसो नेतालाई कुर्सीको मोह बढी हुने भएकाले मैले एउटा ‘सिभिलियन फोर्स’ तयार गरिरहेको छु,’ उनले भने।

पुरानो शक्तिलाई टक्कर दिन तीन जना मिल्नुपर्छ : टासी ल्हान्जोम
आउने चुनावमा नयाँ राजनीतिक दल र शक्तिहरू मिलेर आउनु नै उत्तम विकल्प हुने जेनजी अभियन्ता टासी ल्हान्जोम बताउँछिन्। 

उनी भन्छिन्, ‘मैले त यो कुरालाई राम्रै मानेकी छु। पहिले बालेनजीले कुलमान सरसँग पनि छलफल गर्नुभयो, अहिले रविजीसँग पनि। उहाँहरू तीन जनाको प्रतिनिधित्व एउटै पार्टीभित्र हुनु एकदमै महत्त्वपूर्ण कुरा हो।’

आउने चुनावमा पुरानो शक्तिलाई टक्कर दिनका लागि कुलमान, बालेन र रवि जस्तो बलियो नेतृत्व आवश्यक रहेको टासी बताउँछिन्। यस नेतृत्वले जेनजीको मागलाई पनि सम्बोधन गर्न सक्ने टासीले बताइन्। 

‘यो कुरालाई मैले एकदमै सकारात्मक रूपमा हेरेकी छु, हामीलाई चाहिएको यही नै हो,’ टासीले नेपालखबरसँग भनिन्, ‘हामीले चाहेको यी तीन जना एक ठाउँमा आऊन् भन्ने हो। तर त्यो भएन भने पनि तीनमध्ये दुई जना मात्र मिले पनि सो दललाई मलगायत अरू जेनजीहरूले समर्थन गर्ने सम्भावना धेरै हुन्छ।’

टासीले आफू पनि सक्रिय रूपमा राजनीतिमा जाने बताइन्। 

उनी भन्छिन्, ‘हामी जेनजीहरू कि सदनमा जानुपर्छ कि सडकमा भन्ने बेला आएको छ। मलाई चाहिँ जेनजीका माग–मुद्दालाई लिएर सदनमा जानुपर्छ भन्ने लाग्छ।’

मोनिकाको प्रश्न : प्रतिशोधका लागि मिल्न खोजेको हो? 
बालेन र रविको भेटवार्ताको विषयलाई लिएर जेनजी मुभमेन्ट अलायन्सकी मोनिका निरौला चाहिँ त्यति उत्साहित छैनन्। रवि र बालेन प्रतिशोधका लागि मिल्न लागेका हुन् कि भन्ने उनको आशंका छ।

मोनिका भन्छिन्, ‘ठीकै छ, उहाँहरू एकै ठाउँमा उभिनु नराम्रो कुरा त होइन। एजेन्डा मिल्छ, आइडियोलोजी मिल्छ भने एकै ठाउँमा जानु ठीकै हो। तर उहाँहरूबाट वास्तविक समाधानको कुरा चाहिँ खासै मैले सुनेजस्तो लाग्दैन। खाली प्रतिशोध साध्ने खालको भाषा प्रयोग भएको सुन्छु।’

बालेन–रविले वास्तविक समाधानभन्दा पनि प्रतिशोधात्मक राजनीतिक एजेन्डा बोकेको मोनिकाको भनाइ छ। 

‘अब हामीले गर्ने प्रश्न भनेकै उहाँहरूले के डेलिभर गर्ने प्रतिज्ञा गर्नुहुन्छ? भन्न त सजिलो छ, तर त्यो कसरी गर्नुहुन्छ भन्ने हो,’ उनी भन्छिन्, ‘रास्वपा, उज्यालो नेपाल, कसैले पनि जेनजी आन्दोलनका मुद्दाहरू हामी उठाउँछौँ भन्ने प्रतिबद्धता सार्वजनिक रूपमा गर्नुभएको छैन। हाम्रा एजेन्डाबारे उहाँहरूले कुनै पनि किसिमको वचन दिनुभएको छैन। त्यसैले ढुक्कसँग उहाँहरूलाई पत्याइहाल्ने अवस्था छैन।’

रास्वपाको विचारधारालाई आफूले समर्थन नगर्ने उनको भनाइ छ। रास्वपाले संरचनात्मक समायोजन, राज्यको खर्च कटौती गर्ने कुरा गर्छ, तर शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितताजस्ता सेवा उनीहरूले कसरी दिन्छन् भन्नेमा आफू प्रस्ट हुन नसकेको उनी बताउँछिन्।

‘त्यसैले म अझै पनि विकल्प खोज्दै छु,’ मोनिकाले भनिन्, ‘कुलमान, बालेन वा रविभन्दा पनि जेनजीले नै नेतृत्व लिनुपर्छ। जेनजीहरू को–को नेतृत्वमा पुग्छन्, आन्दोलनको मर्मलाई कसरी बोक्छन्, यही मुख्य कुरा हो।’

चुनावमा तीन जनाको भूमिका निर्णायक हुन सक्छ : उपार्जुन चाम्लिङ
अहिलेको संकटमोचनका लागि रवि र बालेनबीच भेटवार्ता हुनु सकारात्मक रहेको काउन्सिल अफ जेनजीका कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङ बताउँछन्। 

चाम्लिङ भन्छन्, ‘रवि-बालेन भेटलाई हामीले सकारात्मक रूपमा लिएका छौँ। त्यसमा कुलमान र हर्क साम्पाङ लगायत  मिलेर  चुनावमा जानुपर्छ।’

देश चुनावी वातावरणमा पुग्दा कुलमान, बालेन र रविको भूमिका निर्णायक हुनसक्ने उनले बताए। यी तीन नेतृत्वले सरकार र चुनावको पक्षमा माहोल सिर्जना गरेको र त्यो जेनजीकै हितमा रहेको उनको तर्क छ।

नयाँ शक्ति मिलेर चुनावमा जाँदा आफूहरू पनि सो दलबाट राजनीतिमा जान सक्ने सम्भावना धेरै रहेको चाम्लिङ बताउँछन्। 

‘चुनावपछि जेनजीको मुद्दा बोक्ने सरकार देख्न चाहनेहरूले हिजोको सरकार फेरि देख्न चाहेका छैनन्। त्यसका लागि को–कोसँग नजिक र टाढा बस्ने हो भन्ने कुरामा जेनजी प्रस्ट हुनुपर्छ, र त्यसमा हामी पनि राजनीतिक रूपमा अगाडि बढ्न सक्ने सम्भावना छ,’ चाम्लिङले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad