राजनीति


एमाले रणनीति– आन्तरिक चुनावी तयारी गरिरहने, बाहिर पुनर्स्थापनाको पक्षमा उभिने

एमाले रणनीति– आन्तरिक चुनावी तयारी गरिरहने, बाहिर पुनर्स्थापनाको पक्षमा उभिने

सागर न्यौपाने
पुस ७, २०८२ सोमबार २२:५५, काठमाडौँ

नेकपा एमालेका नेताहरू फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको चुनाव हुन्छ भन्दैनन्। भदौ २७ गते विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताउँछन्।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीले गरेको छलफलमा पनि एमालेका सचिव महेश बस्नेतले यही कुरा दोहोर्‍याए।

‘निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित हुनुपर्छ,’ उनले भने, ‘तर अहिले पनि हाम्रै दलका नेतामाथि स्थानहद लगाइएको छ। त्यसैले फागुन २१ मा चुनाव हुन्छ भन्नेमा हामी विश्वस्त छैनौँ।’ 

एमालेको संसदीय दल र केन्द्रीय कमिटीले नै प्रधानमन्त्री नियुक्ति भएलगत्तै सुशीला कार्कीले गरेको विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च जाने निर्णय गरेको थियो। त्यसैले निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट दायर गरेका थिए। एमालेले सर्वाेच्च अदालतमा परेको रिटको छिटो भन्दा छिटो फैसला हुनुपर्ने बताइरहेका छन्। 

एमालेले त्यही मागमा नेपाली कांग्रेसलाई पनि सहमत गराएको छ। सोमबारसम्म दुई पार्टीका १४६ सांसदको हस्ताक्षर संकलन भइरहेको छ। मंगलबार यही हस्ताक्षर लिएर अदालतमा पूरक निवेदन लैजाने तयारी छ।

जेनजी आन्दोलनका कारण सत्ता गुमाएको एमालेलाई प्रतिनिधि सभा पुनर्स्थापना भइदिए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविकै हो। तर, बाहिर पुनर्स्थापना हुनैपर्ने बताइरहेको एमालेले चुनावको तयारी पनि निकै राम्ररी गरिरहेको नेताहरू बताउँछन्। ओलीका विश्वासपात्र एक नेताका अनुसार चुनाव हुने अवस्था आएमा एक मिनेटमा सबै प्रक्रिया अघि बढाउन सक्ने संयन्त्र तम्तयार अवस्थामा छ।

यद्यपि, चुनाव हुने अवस्था नभएकोले त्यसलाई अहिले सक्रिय नपारिएको ती नेताले दाबी गरे।

‘एमाले पार्टी हो, अध्यक्ष केपी ओलीले सिठ्ठी हान्नुभयो भने हामी जे पनि गरिहाल्छौँ नि एकैदिनमा,’ ती नेताले नेपालखबरसँग भने, ‘पहिलो पार्टी हुनैपर्‍यो। सरकारले चुनाव गर्ने वातावरण बनायो भने हामी तयार हुन्छौँ।’ 

चुनावमा एमालेले आन्तरिक तयारी गरेको अर्काे आधार हो–समानुपातिक निर्वाचन तर्फको नाम सिफारिस गर्ने विषयमा भइरहेको आन्तरिक छलफल। निर्वाचन आयोगले आगामी पुस १४ गतेभित्र समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन समयसीमा दिएको छ।

यसका लागि नाम पठाउन एमालेले तल्ला कमिटीलाई भनिसकेको अर्का पदाधिकारीले बताए।

‘समानुपातिक उम्मेदवार सिफारिस गरेर पठाउन तल्ला कमिटीलाई भनिसकिएको जानकारी पाएको छु,’ ती नेताले भने, ‘मौखिक रुपमै नाम पठाउनुस् भनिएको छ। लिखित केही दिनमा जान्छ।’

ती पदाधिकारीले पनि चुनाव भइहाल्यो भने पार्टी तयारी अवस्थामा बसेको बताए। 

‘अदालतले तत्काल संसद् पुनर्स्थापना नगरेर लम्ब्यायो भने त फेरि पार्टी चुनावबाट भाग्ने कुरा हुँदैन,’ उनले थपे, ‘तल गरिराख भन्ने हो। व्यवस्थित कमिटी भएपछि निर्देशन गरे पुगिहाल्छ। त्यतिबेलै सबै संगठन एकै पटक चलायमान हुन्छ।’

वडा भेला, पालिका जनपरिचालन, जिल्ला परिचालन गर्दै एमालेले मंसिर २७ देखि पुस २ सम्म ११ औँ महाधिवेशन गरेको थियो।

जसले गर्दा पार्टी चुनाव सामना गर्ने अवस्थामै चलायनमान रहेको अर्का पदाधिकारीले बताए।

‘बाहिर संघर्ष गर्ने समूह राखेर प्रतिनिधि सभा पुनर्स्थापना भनिएको हो,’ उनले भने, ‘तर, सरकारले तयारी गरेर साँच्चिकै चुनाव गराउने भयो भने त कि बहिष्कार भन्नुपर्‍यो। त्यसले पार्टीको अवस्था के होला? त्यो त हुँदैन नि। त्यही भएर पार्टीले आन्तरिक तयारी गरिरहने। तर, बाहिर हामी पुनर्स्थापनाको पक्षमा उभिने। त्यसो गर्दा पार्टी चुनावी तयारीमा लागिरहेको छ।’

अध्यक्ष केपी शर्मा ओलीले ‘चुनाव हुन सक्दैन, भयो भने जाने गरी हामीले तयारी गरिराख्नु पर्छ’ भनेर निर्देशन दिएको अर्का नेताले जानकारी दिए।

एमालेले पार्टीका लागि महत्त्वपूर्ण निर्णय तत्काल गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ।

‘अस्ति बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीका सबै निर्णय गर्ने अख्तियारी केन्द्रीय सचिवालयलाई दिएको छ, अब सचिवालयले सबै गृहकार्य गर्छ,’ ती नेताले भने। 

एमाले सचिव शेरधन राईले पनि चुनावबाट पार्टी पछि नहटेको बताए। तर, सरकारले तयारीभन्दा प्रोपोगान्डा गरिरहेको उनको आरोप छ।

‘चुनाव भइहाल्यो भने तयारी अवस्थामा रहन पर्‍यो। तल पूरै तयारी छ। तर, टिकट यसलाई दिने भनेर हामीले निर्णय गरिसकेका छैनौँ,’ अर्का पदाधिकारीले भने, ‘पार्टीले चुनावमा ध्यान दिइरहेको छ। तर, होमिइसकेको छैन। अझै केहीदिन पर्खियौँ भनेर बसेका छौँ।’

सोमबार एकै दिन एमालेको मुभले देखाउँछ यो पार्टी संसद पुनर्स्थापना र चुनावको तयारी सँगसँगै गरिरहेको छ। 

सोमबार एमाले अध्यक्ष केपी ओली महासचिव शंकर पोखरेलको साथमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास पुगे, जहाँ मुख्यगरी संसद पुनर्स्थापनाको विषयमा छलफल भयो। सोही समयमा सचिव महेश बस्नेत र पूर्वमुख्य सचेतक महेश बर्तौला भने प्रधानमन्त्रीले सिंहदरबारमा आयोजना गरेको चुनावी तयारीको बैठका सहभागी भए। 

‘आज शेरबहादुर देउवा र केपी ओलीबीच भएको भेट संसद् पुनर्स्थापनाकै तयारी हो,’ ओलीका विश्वासपात्र नेताले भने, ‘१४६ जनाको हस्ताक्षर भइसक्यो। अब पेस हुन्छ। सरकार बन्न सक्ने स्थिति छ भनेर हामी दिन्छौँ। सरकार बन्ने स्थिति छ भनेर देखाउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad