राजनीति


आफूलाई भेट्न आएका सुहाङलाई प्रधानमन्त्रीले सोधिन्- चुनावमा उठ्ने तयारी के छ?

आफूलाई भेट्न आएका सुहाङलाई प्रधानमन्त्रीले सोधिन्- चुनावमा उठ्ने तयारी के छ?

नेपालखबर
पुस ६, २०८२ आइतबार १८:४७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन्।

प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन्।

‘हामी चुनाव गराउनै लागिरहेका छौँ, असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ,’ कार्कीको भनाइ छ, ‘शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ। अबको हाम्रो लक्ष्य चुनाव गराउने हो। चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ।’ 

नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिएका थिए। ‘हाम्रो शुभेच्छा छ, शुभकामना छ,’ उनले भने, ‘चुनाव गराउन सफल हुनुहोस्।’ 

प्रधानमन्त्री कार्कीले नेम्वाङसँग चुनावमा उठ्ने तयारी के छ भनेर पनि जिज्ञासा राखेकी थिइन्। प्रतिक्रियामा नेम्वाङले चुनावको तयारी गरिरहेको बताए।

 
प्रधानमन्त्री कार्कीले नेम्वाङलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा राखिन्। ‘चुनाव हुन्छ। तयारी अवस्थामा रहनू। तपाईँहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ,’ कार्कीले भनिन्, ‘अनि मात्र देशमा केही न केही हुन्छ। बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन। पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ। देश युवाले नै हाँक्नुपर्छ। युवामा साहस हुन्छ, ऊर्जा हुन्छ। उसले साहसिक पाइला पनि चाल्न सक्छ।’

नेम्वाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुल पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए।

प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad