प्रधानमन्त्री सुशीला कार्कीले बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले युवाहरुमाथि शासन गरेर नहुने बताएकी छिन्।
इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग आइतबार सिंहदरबारमा भएको भेटमा उनले यस्तो टिप्पणी गरेकी हुन्।
‘बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन,’ कार्कीको भनाइ छ, ‘पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ।’
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनको सन्दर्भ उल्लेख गर्दै युवाहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिन्। ‘चुनाव हुन्छ, तयारी अवस्थामा रहनू,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईंहरूजस्तै युवा अघि आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ। अनि मात्र देशमा केही न केही परिवर्तन हुन्छ।’
प्रधानमन्त्री कार्कीले युवामा साहस र ऊर्जा हुने उल्लेख गर्दै देशलाई अगाडि बढाउन युवाकै नेतृत्व अपरिहार्य रहेको बताइन्। ‘देश युवाले नै हाँक्नुपर्छ,’ उनले भनिन्, ‘युवामा साहस हुन्छ, ऊर्जा हुन्छ र उसले साहसिक पाइला पनि चाल्न सक्छ।’
Shares

प्रतिक्रिया