सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्णय प्रक्रियामा लगाम लगाउँदै दुबै पक्षको जितको अनुभूती गराएको छ।
शनिबारको सचिवालय बैठकसँगै विभाजनको डिलमै पुग्ने अवस्थामा देखिएको नेकपाको विवाद तत्कालका लागि साम्य भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैलीप्रति अत्मआलोचना गरेपछि बैठकले पार्टी एकताको मोड लिएको हो।
शनिबार साढे ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीलाई विधि, पद्धति र प्रक्रियाको आधारमा चलाउने निर्णय गरेसँगै नेकपाको विवाद तत्कालका लागि साम्य भएको मानिएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेका थिए। पूर्वएमाले र पूर्वमाओवादीको एकताबाट नेकपा गठन भएपछि अध्यक्ष ओलीले आफ्नो गलत कार्यशैलीप्रति यसरी माफी मागेको संभवतः यो नै पहिलो पटक हो।
पार्टीमा ओलीको कार्यशैलीबारे प्रश्न उठाउँदै आएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यसलाई नै एउटा जितका रुपमा लिएको छ।
सचिवालयका एक जना वरिष्ठ नेताका अनुसार नीति, विधि र पद्धतीका आधारमा पार्टी सञ्चालन हुने निर्णय बैठकले गरेको छ।
‘भैंसेपाटी गठबन्धनको एउटा माग पार्टीलाई विधि र पद्धतीमा सञ्चालन गर्ने भन्ने थियो, जुन पूरा भएको छ’ स्थायी समितिका ती वरिष्ठ सदस्यले भने, ‘अर्को माग स्थायी समितिको बैठकको आयोजना गर्ने थियो, मिति नै तोकिएपछि त्यो पनि पूरा हुने भएको छ।’
प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको स्थायी समितिको बैठक वैशाख २५ गते र त्यसको तयारीका लागि २४ गते सचिवालयको अर्को बैठक राखिएको बताए।
भैंसेपाटी गठबन्धनका नेताहरूले पछिल्लो समय प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने माग पनि गरेका थिए। ओलीले आत्मआलोचना गर्दै अबदेखि पार्टी विधि र पद्धतीका आधारमा चल्ने र सरकार पार्टीको निर्देशनमा चल्ने प्रतिवद्धता जनाएपछि राजीनामाको विषय रोकिएको छ।
‘पार्टीमा विधि, पद्धती र तरिकाहरु पालना हुनुपर्छ भन्ने हाम्रो मागमा सचिवालयका सबै सदस्यहरु सहमत हुनुभयो’, उनले भने, ‘अनि प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैलीप्रति आत्मालोचना गर्नुभयो। अब पार्टी एकताबद्ध भएर अघि बढ्छ।’
गठबन्धनमा मुख्य माग पूरा भएपनि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट देखिएको भन्ने प्रसंगमा स्थायी समितिका ती सदस्यले ‘कुनै नेताको व्यवस्थापनको विषयलाई लिएर समस्या नभएको’ बताए।
सचिवालयका ती सदस्यका अनुसार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य नबनाउने, बरु जित्ने स्थानमा एकजनालाई राजीनामा गराएर उपनिर्वाचन गराउने र त्यहीँबाट जिताउने समझदारी भएको छ।
बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डका लागि समान आसनमा बस्ने व्यवस्था मिलाएर अबको दिनमा सच्चिएर जाने संकेत ओलीले दिएको अर्का एक नेताले बताए।
‘प्रधानमन्त्री ओलीले आत्मआलोचना गर्दै अब सच्चिएर अगाडि बढ्ने, पार्टीलाई संस्थागत रुपमा रुपान्तरण गरेर जाने र पार्टी अन्तर्गत रहेर सरकार सञ्चालन गर्ने बताउनु भएको छ’, अध्यक्ष प्रचण्ड निकट ती नेताले भने, ‘त्यसैले पार्टीभित्रको लडाइँ अब वीन वीनको अवस्थामा सकियो।’
सचिवालय बैठकअघि ओली र प्रचण्डबीच करिब ४० मिनेट गोप्य छलफल भएको थियो, जहाँ दुई अध्यक्षबीच मिलेर जाने सहमती भएको चर्चा छ। तर शुक्रबार भएको भेटमा नै ओलीले आफुलाई पाँच वर्ष ढुक्कले सरकार सञ्चालन गर्न दिन आग्रह गर्दै प्रचण्डलाई पाँच वर्ष नै पार्टीको नेतृत्व गर्न भनेका थिए।
नेकपा स्थायी समितिका एक नेताका अनुसार शनिबारको बैठकमा यसबारे चर्चा नभएपनि शुक्रबारको सहमती अनुसार नै दुई अध्यक्ष मिलेर अगाडि बढ्न तयार भएका हुन् र आगामी दिनहरूमा त्यो देखिँदै जानेछ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘आन्तरिक जीवनमा देखा परेको संकट समाधान गर्ने गरी पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको’ बताए।
‘पार्टी एकताको रक्षा गर्ने र त्यसलाई सुदृढ बनाउने निर्णय भएको छ’, श्रेष्ठले भने, ‘पार्टी एकतालाई कमजोर पार्ने र विभाजन उन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको छ।’
Shares

प्रतिक्रिया