राजनीति


ओली, प्रचण्ड नजिकिएपछि झस्के नेपाल, भन्छन्–दुई नेता मिल्दैमा विवाद सुल्झिन्न

ओली, प्रचण्ड नजिकिएपछि झस्के नेपाल, भन्छन्–दुई नेता मिल्दैमा विवाद सुल्झिन्न

मणि दाहाल
बैशाख २०, २०७७ शनिबार १७:४६,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहि समझदारी भएको चाल पाएपछि वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुई अध्यक्षहरु मिल्दैमा पार्टीको समस्या समाधान नहुने बताएका छन्।

सचिवालय बैठकमा बोल्ने क्रममा नेपालले नेताहरुबीच समझदारी हुनु र आपसी एकता गरेर अघि बढ्ने कुरा आफैमा सकारात्मक भए पनि केवल दुईजना नेता मिलेर मात्रै पार्टीमा उठेका विषय सुल्झेको ठान्न नहुने बताएका थिए।

‘माधव कमरेडले बैठकमा बोल्दै नेताहरु मिलेर जाने विषय राम्रो भएपनि दुई जना नेताले चोँचोमोँचो मिलाएर मात्रै समस्या समाधान नहुने बताउनु भयो,’ पार्टीका एक सचिवालय सदस्यले बैठकपछि नेपालखबरसँग भने।

बैठकमा दुई अध्यक्ष ओली र प्रचण्ड मिलेर आफूलाई फेरि किनारा लगाउन खोजेकोतर्फ नेपालले संकेत गरेका थिए।

बैठकमा ओली र दाहालले राखेका धारणा सुनेपछि बोलेका नेपालले त्यसपछि असन्तुष्टि व्यक्त गरेका हुन्।

सचिवालय बैठक सुरु हुनुअघि ओली र दाहालबीच छुट्टै भेटघाट भएको थियो। सो भेटमा के सहमति भयो भन्नेबारे केहि सार्वजनिक गरिएको छैन।

ओली र प्रचण्डबीच शुक्रबार पनि छुट्टै भेट भएको थियो।

प्रधानमन्त्री ओलीले एकलौटी रुपमा सरकार र पार्टी सञ्चालन गरेको भनी त्यसको बिरोध गर्दै प्रचण्ड र नेपालले असन्तुष्ट नेताहरु सम्मिलित भैसेपाटी गठबन्धनको नेतृत्व गर्दै आएका थिए।

प्रधानमन्त्री ओलीले प्रचण्डसँग समझदारी विकास गर्ने प्रयास गरिरहेको चर्चा चलिरहेका बेला शनिबारको बैठकमा नेताहरुको सिट व्यवस्थापनमा समेत त्यसको संकेत दिइएको थियो।

याे पनि: नेकपा सचिवालय बैठकमा प्रचण्डलाई ओलीसँगै उस्तै कुर्सी

यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई छुट्टै र अरु सबै सदस्यहरुलाई दुई लहरमा सामान्य सिटको व्यवस्था गरिने गरेकोमा शनिबार भने ओली र प्रचण्डलाई एउटै लहरमा उस्तै कुर्सी र अरु सदस्यहरुलाई एकप्रकारको सिट व्यवस्थापन गरिएको थियो।

बैठकमा दुई अध्यक्षले धारणा राख्ने क्रममा पनि केहि फरक संकेत पाएपछि नेता नेपालले आफ्नो असन्तुष्टि व्यक्त गरेको उनीनिकट एक नेताले जानकारी दिए।

यसअघि बुधबार भएको सचिवालय बैठकमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीले राजिनामा दिनुपर्ने विषय नेताहरुले जाेडदाररुपमा उठाएका थिए।

‘आजको बैठकमा केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने विषय कसैले पनि उठाउनु भएन,’ एक सचिवालय सदस्यले भने, ‘बैठक र सरकारलाई पद्धति अनुसार चलाउनु पर्ने धारणा आएको थियो।’

दाहाल र नेपाल समूहले ओलीले सरकार र पार्टी दुवैको नेतृत्व गर्न नसक्ने निष्कर्ष निकाल्दै दुवै पद छाड्नु पर्ने माग गर्दै आएका थिए।

सचिवालयका बहुमत सदस्य सहितको भैसेपाटी गठबन्धनले यसअघिका बैठकहरुमा एकमतले ओलीलाई दबाब दिएपछि उनी निकै अप्ठेरोमा परेका थिए।

स्रोतका अनुसार शनिबार ओलीले प्रचण्डलाई आफू सरकार सञ्चालनमा केन्द्रित हुने र प्रचण्डलाई पार्टी सञ्चालनमा थप भूमिका दिने आश्वासन दिएर उनलाई मनाएका हुन्।

अर्का नेता वामदेव गौतमलाई प्रतिनिधि सभामा चुनावै जितेर ल्याउने वातावरण बनाउने र त्यसो हुँदा उनलाई प्रधानमन्त्री बन्नेसम्म कुनै अड्चन नहुने भनी फकाएको बताइएको छ।

याे पनि: 
सचिवालय बैठकअघि ओली–प्रचण्डबीच छुट्टै कुराकानी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .