उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यसम्बन्धी गम्भीर सूचना सार्वजनिक भएको करिब ३ हप्तापछि शनिबार उनले कार्यक्रम उद्घान गरिरहेको तस्बिर नै सार्वजनिक भएको छ।
उत्तर कोरियाली सञ्चारमाध्यमले उनी कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरेका हुन्। त्यो समाचार र तस्बिर विश्वका कैयौं सञ्चारमाध्यमले प्रकाशन/प्रसारण गरेका छन्।
यसअघि कतिपयले उनी गम्भीर बिरामी परेको समाचार दिएका थिए भने केहीले त उनको मृत्यु नै भएको खबरसमेत दिएका थिए।
तर दक्षिण कोरियाको सुरक्षा एजेन्सीले भने उनी जीवितै रहेको भन्दै केही दिनअघि समाचार सार्वजनिक गरेको थियो। अन्ततः यही समाचार सत्य साबित गर्र्दै किम सार्वजनिक भएका छन्।
दक्षिण कोरियाली समाचार एजेन्सीले उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको बताएको थियो।
खासगरी उत्तर कोरियाली नेता किम अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उपस्थित नभएपछि विश्वका सञ्चारमाध्यमले शंका गरेका थिए। त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिन थियो।
त्यस अवसरमा उत्तर कोरियामा विशेष राष्ट्रिय कार्यक्रम आयोजना गरिन्छ। किम इल सुङ उत्तर कोरियाका संस्थापक हुन्। त्यस कार्यक्रममा उत्तर कोरियाली नेताको विशेष उपस्थिति हुने गर्छ। तर त्यस दिन किम जोङ उन नदेखिएपछि उनको अवस्थाबारे सञ्चारमाध्यममा अनेक अड्कलबाजीका खबर आउन थालेका हुन्।
यही घटनाका आधारमा केहीले उनी गम्भीर बिरामी रहेको त केहीले उनको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए। दक्षिण कोरियाकै केही पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो।
पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको भनेर पनि समाचार दियो। तर उनीबारे यस्तो समाचार आएको यो पहिलोपटक होइन। सन् २०१४ मा पनि उनको गम्भीर प्रकृतिको शल्यक्रिया गरिएको र स्वास्थ्य गम्भीर रहेको समाचार दिइएको थियो। त्यस बेला पनि उनी लामो समयपछि सार्वजनिक भएका थिए।
यतिखेर उनी सार्वजनिक भइसकेपछि पनि कतिपय सञ्चारमाध्यले अझै उनको उत्तराधिकारी को होला भन्ने विषयमा खोजी गर्न थालेका छन्। साथै यतिखेरका विश्वका विभिन्न देशका सञ्चारमाध्यमले उत्तर कोरियाको आणविक कार्यक्रम र आणविक वार्ता कहाँ पुग्यो भनेर पनि समाचार दिएका छन्। रासस/एएफपी
याे पनि:
Shares

प्रतिक्रिया