राजनीति


विनोद ढकालले दिन सक्छन् सचिवमा शेरधन र हिक्मतलाई टक्कर

विनोद ढकालले दिन सक्छन् सचिवमा शेरधन र हिक्मतलाई टक्कर

सुमन सुस्केरा
मंसिर २८, २०८२ आइतबार १७:५४, विराटनगर

नेकपा एमालेको ११औँ महाधिवेशन नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ। बन्द सत्रसँगै अब नेतृत्वका विषयमा एमाले रस्साकस्सीका साथ अघि बढेको छ।

कसलाई उम्मेदवार बनाउने, कुन समूहबाट उम्मेदवारी दिने भन्ने छलफल जारी छ। धमाधम उम्मेदवारी घोषणा गर्ने क्रम पनि सुरु भएको छ। एघारौँ महाधिवेशनबाट कसलाई नेतृत्वमा ल्याउने भन्ने काममा प्रतिनिधिहरू लगिसकेका छन्।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधिहरू ध्रुवीकरण भएका छन्। अब कसलाई जिताउने भन्नेमा केन्द्रित हुन थालेका छन्। 

पदाधिकारीमा सर्वसम्मतको प्रयास भइरहेको अवस्थामा कसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय अहिले समूहका बिचमा छलफल भइरहेको नेकपा एमालेका नेताहरूले बताउँदै आएका छन्।  अध्यक्ष केपी शर्मा ओलीको प्रदेश भएकोले कोसी प्रदेश बढी चर्चामा छ। 

ओली पक्षीय विश्वास पात्रका रूपमा रहेका दुई स्थायी कमिटी सदस्यहरू हिक्मतकुमार कार्की र शेरधन राई सचिवको चर्चामा छन्। उनलाई टक्कर दिनको लागि विराटनगरका पुराना एमाले नेता विनोद ढकाल आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन्। एघारौँ महाधिवेशनबाट आफ्नो एक मात्रै ध्येय सचिवको पदमा चुनाव जित्नेमा केन्द्रित रहेको उनी बताउँछन्।

नेपाल खबरसँग कुरा गर्दै ढकालले भने, ‘सङ्गठनभित्रको भूमिकालाई वर्ष वा भावनाका आधारमा नभई जिम्मेवारी र तथ्यका आधारमा प्रतिनिधिले मूल्याङ्कन गर्नुपर्छ।’

ढकालले आफू कोसी प्रदेश इन्चार्ज तथा अखिलको केन्द्रीय कमिटी सदस्य रहँदा भोजपुरमा सङ्गठन विस्तारका क्रममा शेरधन राईलाई जिल्ला अध्यक्ष बनाइएको दाबी गरेका छन्। सो समय शेरधन राई जिल्ला कमिटी सदस्य थिए भने ढकालले आफू केन्द्रीय तहको जिम्मेवारीमा त्यहाँ पुगेर राईलाई अध्यक्ष बनाएको सुनाए। 

पार्टीभित्र आफू पुरानो र अनुभवी नेता भएकोले यो पटकको महाधिवेशनलाई फरक ढङ्गले प्रतिनिधिले हेर्ने उनको भनाई छ। ‘म केन्द्रीय कमिटी सदस्य र कोसी प्रदेश इन्चार्ज हुँदा उहाँ (शेरधन) जिल्ला अध्यक्ष बन्नुभएको हो, ढकालले भने, ‘हिक्मत कार्कीजी र म सँगसँगै नै विद्यार्थी राजनीतिबाट आएका हौँ।’

विनोद ढकाल अनेरास्ववियु मोरङ जिल्लाको अध्यक्ष हुँदा हिक्मत कार्की काठमाडौँ जिल्लाको अध्यक्ष रहेको उनले बताए। जसलाई समकालीन जिम्मेवारीका रूपमा बुझ्नु पर्ने उनको भनाई छ। 

शेरधन राई र हिक्मतकुमार कार्कीसँग सचिव पदमा प्रतिस्पर्धा गर्न लागेको ढकाल भने कहिल्यै लाभको पदमा पुग्न पाएनन्।

‘पार्टी र सङ्गठनप्रति इमान्दार भएर लाग्दा निर्वाचित जनप्रतिनिधिको रूपमा  कामै गर्न पाइएन,’ उनले भने, ‘पार्टीले चुनाव लड्ने अवसर दिए पनि टिकट र भूगोलका यथार्थ कारणले परिणाम फरक आयो।’

पार्टीभित्रका विषयहरू तथ्यमा आधारित भएर सार्वजनिक हुनुपर्ने उनले बताए। 

ओली समूहबाट कोसी प्रदेशका शेरधन र हिक्मतले सचिवमा उम्मेदवारी दिई रहँदा हिजोका दिनमा ओली निकटका विश्वास पात्र विनोद  पनि उसै गरी मैदानमा आउँदा प्रतिस्पर्धा रोचक हुने देखिएको छ।  ढकाल अहिले ईश्वर पोखरेल समूहबाट सचिवमा दाबी गरिरहेका छन्।  

सचिवको पदमा कसरत गरिरहेका शेरधन राई  समूहगत प्रतिस्पर्धा हुने बताउँछन्। पार्टीले नै अघि सार्ने भएकोले पार्टीले अघि सार्दा आफू सचिव पदको लागि तयार रहेको उनको भनाई छ। २०५६ सालदेखि सांसद, मन्त्री हुँदै कोसी प्रदेशको पहिलो मुख्यमन्त्रीसम्मको भूमिकाले आफूलाई स्वाभाविक रूपमा वरिष्ठ बनाएको राईको दाबी छ।

२०३६ सालको विद्यार्थी आन्दोलनदेखि निरन्तर राजनीतिमा लागेको, २०५५ सालमा अखिल केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरी पार्टी र सङ्गठनलाई बलियो बनाएको, २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज भएको, निरन्तर केन्द्रीय सदस्य तथा स्थायी समिति सदस्यमा रहेको कारण आफू पनि सिनियर नै रहेको कार्कीको भनाइ छ। 

कार्की र राईबीच एक जना सचिवमा दाबी पेस गर्दा एक जना ब्याक हुने चर्चाका बिच चुनाव हुँदा ढकालले सचिवमा जित्न सक्ने अड्कलहरू गर्न थालिएको छ।   

शेरधन राईले भने आफूहरू (हिक्मत र शेरधन) नभिड्ने बताउँदै आएका छन्। दुई जना मध्ये एक जना मात्रै सचिवको प्रतिस्पर्धामा रहने राईले नेपालखबरलाई बताएका छन्। एउटै समूहका व्यक्ति एउटै पदमा नलड्ने उनले सुनाए। 

पार्टीको आसन्न महाधिवेशनलाई लक्षित गर्दै नेतृत्व चयन प्रक्रियामा राई र कार्कीबीच ‘आन्तरिक भिडन्त’ हुने भन्ने चर्चा अहिले सतहमा देखिएको छ। 

एमालेको अहिलेको विधानमा ७ जना सचिव रहने व्यवस्था रहेको छ। त्यसका लागि ओली र पोखरेल दुवै समूहबाट २४ जनाभन्दा बढी आका‌ंक्षी देखिएका छन्।

यही आकांक्षालाई सम्बोधन गर्न ओलीले केन्द्रीय कमिटी बैठकमार्फत विधान संशोधनको निर्णय गराएका छन्। अब महाधिवेशनले विधान सम्शोधन गरे ९ जना सचिव रहने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad