राजनीति


अध्यक्ष ओलीले ढिलो गर्दा अझै सुरु भएन एमाले केन्द्रीय कमिटी बैठक

अध्यक्ष ओलीले ढिलो गर्दा अझै सुरु भएन एमाले केन्द्रीय कमिटी बैठक

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १०:२४, काठमाडौँ

नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आज बिहान बस्नेगरि एमालेले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ।

तर, साढे नौबजेदेखि नै सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठकमा अझै अध्यक्ष केपी शर्मा ओली पुगेका छैन। ओली बैठकमा नआएकाले बैठक सुरु हुन नसकेको एक नेताले जानकारी दिए। 

सुरुमा आज बिहान नौ बजेदेखि नै बैठक सुरु हुने भनिएको थियो। पछि साढे नौ बजेको लागि सारिएको बैठक एक घण्टा ढिलो हुन लाग्दासमेत बसेको छैन।

‘सबै पदाधिकारी र केन्द्रीय  सदस्यहरू हलमा अध्यक्षलाई पर्खिरहेका छन्,’ एक नेताले नेपालखबरसँग भने, ‘अध्यक्ष उपस्थित हुनासाथ बैठक सुरु हुन्छ।’

बैठकमा ओली मात्र नआएका हुन्। अरु पदाधिकारी सबै बैठकमा उपस्थित भइसकेका छन्। केन्द्रीय सदस्य र अन्य पदाधिकारी ४५ मिनेटदेखी हलमा मोबाइल चलाएर, गफ गरेर बसिरहेका छन्। 

बन्दसत्रस्थल भृकुटीमण्डपमै एमालेकाे केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। केन्द्रीय कमिटी बैठकपछि महाधिवेशनको बन्दसत्र दिउँसो १२: १५ बजे सुरु गर्ने बताइएको छ। 

यसअघि बिहान आठै बजे बन्दसत्र सुरु गर्ने तयारी गरेको एमालेले आकस्मिक रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको हो। केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे भने सदस्यहरुलाई जानकारी गराइएको छैन। 

महाधिवेशन उद्घाटनअघि शुक्रबार साँझ बसेको एमाले सचिवालय बैठकबाट अध्यक्ष केपी शर्मा ओली विधान संशोधन गर्न चाहन्थे तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले अवरोध गरेपछि रोकिएको थियो। 

आफ्नै समूहमा धेरै नेताले पदाधिकारी बन्ने आकांक्षा राखेपछि ओलीले नेता व्यवस्थापनका लागि विधान संशोधन गरेर पदाधिकारी संख्या तथा केन्द्रीय समिति ठूलो बनाउने प्रस्ताव सचिवालय बैठकमा राखेका थिए। तर ईश्वर पक्षको प्रतिवादपछि उनी पछि हट्न बाध्य भएका थिए।  

आज त्यही विषयमा पुनः छलफलका लागि वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक बस्न लागेको अनुमान गरिएको छ।

साथै एमालेले सार्वजनिक गरेको १०८ जना मनोनीत महाधिवेशन प्रतिनिधिको सूचीप्रति पनि पोखरेल पक्षले असहमति जनाएको छ।

एमालेले एघारौँ महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad