नेकपा एमालेले भोलिदेखि सुरु हुने ११ औँ महाधिवेशनलाई भयरहित बनाउन कमान्ड संरचना अनुसार ५ सय भन्दा बढी स्वयंसेवक परिचालन गर्ने भएको छ।
शुक्रबार महाधिवेशनको उद्घाटन स्थल भक्तपुरको सल्लाघारीमा आयोजना गरिएको पत्रकार सम्मेनलमा स्वयंसेवक समिति संयोजक भानुभक्त ढकालले २४ जनसंगठनबाट प्रतिनिधित्व गराएर ५ सयभन्दा बढी स्वयंसेवकलाई विशेष ‘ड्रेस कोड’सहित खटाउने जनकारी दिए।
ढकालले भने, ‘यो कार्यक्रम भयरहित ढंगले सम्पन्न गर्नका लागि हामीले २४ वटा जनसंगठनबाट प्रतिनिधित्व गराएर ५ सयभन्दा बढी स्वयंसेवक ड्रेस कोड हुनेगरी परिचालन गर्दै छौँ।’

स्वयंसेवकहरूको परिचालन एमालेले कमान्ड संरचनामा गर्ने छ। ‘५ सय स्वयंसेवकभित्र पनि हामीले नेतृत्व कमाण्डको व्यवस्था गरेका छौँ,’ ढकालले भने, ‘प्रत्येक १० जना बराबर १ कमाण्डरको संरचनाबाट त्यो काम गरेका छौँ।’
त्यस्तै महाधिवेशनपछिका कार्यक्रमलाई व्यवस्थित बनाउन खुला संरचनामा १० हजार स्वयंसेवक पनि परिचालन गर्ने छन्। ‘भोलिको कार्यक्रम व्यवस्थित गर्नका लागि हामीले १० हजार स्वयंसेवक परिचालन गर्ने कार्यक्रम बनाएका छौँ,’ ढकालले भने।
यी १० हजार स्वयंसेवकहरू विभिन्न जनसंगठनमार्फत परिचालित हुनेछन्। त्यसमा अनेरास्ववियु, युवा संघ र जीफन्टलगायत हुने छन्।
ती स्वयंसेवकले कार्यक्रमस्थल व्यवस्थापन, अतिथि सत्कार तथा देशभरबाट आउने प्रतिनिधि र सहभागीहरूको सहजीकरण खटिएर काम गर्ने छन्।


Shares

प्रतिक्रिया