प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज (शुक्रबार) चार नयाँ मन्त्री थपिने भएसँगै तीन मन्त्रालय सम्हालिरहेका अनिलकुमार सिन्हाको एउटा मन्त्रालय फेरिने भएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार आज कुमार इङनामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनाउने भएपछि यसको सट्टामा सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भएको हो।
बाँकी दुई- उद्योग वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भने उनको यथावत् रहनेछ।
आज इङनामलाई भूमि तथा माधव चौलागाईँलाई वन तथा वातावरण मन्त्री, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको शपथ खुवाउन लागिएको हो।
शपथ कार्यक्रम दिउँसो ३ बजे हुनेछ।
Shares

प्रतिक्रिया