नेपाली कांग्रेसका नेताहरूलाई १५ औँ महाधिवेशन लागिसकेको छ। उनीहरूले धमाधम नेतृत्वमा दाबेदारी प्रस्तुत गर्न थालेका छन्।
१४ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएकाले शेखर कोइराला स्वाभाविक दाबेदार भइहाले। कार्यवाहक भएर पार्टी चलाएकाले उपसभापति पूर्णबहादुर खड्काले पनि १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने निश्चित जस्तै छ।
कांग्रेस महामन्त्री गगन थापाले मंसिर १७ मै सभापतिमा उठ्ने घोषणा गरिसकेका छन्। उनले यसअघि संसदीय दलको नेता छान्न भएको चुनावमा सभापति देउवालाई टक्कर दिएर भावी नेतृत्वमा दाबेदारी पेस गरिसकेका थिए।
१४ औँ महाधिवेशमै सभापतिमा चुनाव लडेर पछि देउवालाई समर्थन गरेका कल्याण गुरुङले पनि यसपटक फेरि उठ्ने बताइसकेका छन्। त्यतिबेला २२ मत मात्र ल्याएका उनको प्रभाव यसपटक पनि खासै छैन। चन्द्र भण्डारीले पनि फेसबुकमार्फत सभापतिमा उठ्ने बताएका छन्।
यी त अहिलेसम्म खुलेका सभापतिका आकांक्षीहरू भए।
अझै एक पटक डडेल्धुराबाट प्रतिनिधि सभाको चुनाव लड्ने इच्छा रहेको बताइरहेका कांग्रेस सभापति शेरबहादुर देउवा तेस्रो कार्यकालका लागि विधानतः उठ्न पाउने छैनन्। त्यसैले देउवाको विश्वास जितेर १५ औँ महाधिवेशनबाट नेतृत्व हत्याउन नेताहरू जोडबल गरिरहेका छन्। किनकि, देउवाको समर्थन जसले पायो, उसैले सभापति जित्ने सम्भावना बढी छ।
यद्यपि, देउवाले अहिलेसम्म कसैलाई पनि वचन दिइसकेका छैनन्। देउवा अहिले परिस्थितिको मूल्यांकन गरिरहेको निकट नेताहरूको भनाइ छ।
‘पहिला क्रियाशील सदस्यता टुंगो लागोस् न, त्यसपछि मात्र कसलाई समर्थन भन्ने हुन्छ,’ देउवा निकट एक नेताले नेपालखबरसँग भने, ‘आकांक्षीहरू धेरै छन्, अहिलेसम्म कतिजना उम्मेदवार हुन्छन् भन्ने नै निश्चित भइसकेको छैन।’
देउवा निवास महाराजगञ्जमा नेताहरू पुग्ने क्रम बढ्न थालेको छ। उनीहरूलाई देउवा उल्टै बाहिरको माहोलबारे जिज्ञासा राख्छन्।
जेनजी आन्दोलनमा भदौ २४ गते बुढानीलकण्ठ निवासमै हातपातमा परेका देउवा दम्पती लामो समय सार्वजनिक रूपमा देखिएनन्। असोज २८ गते पार्टी कार्यालय सानेपा पुगेर देउवाले छोटो सम्बोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिए।
कात्तिक १० गते उपचारका लागि भन्दै सिंगापुर प्रस्थान गरे। कार्यवाहक दिएर सिंगापुर गएसँगै नेपाली राजनीतिबाट देउवा ओझेल परेको आकलन धेरैलाई थियो।
कांग्रेसभित्र भने यहीबेला भावी नेतृत्वको खेल सुरु भइसकेको थियो। देउवा विदेशमै हुँदा विशेष महाधिवेशनको माग चर्कियो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अगुवाइ गरेर ५४ प्रतिशत हस्ताक्षर नै जुटाए। थापा र शर्माले हस्तक्षेप बढाउँदै जाँदा केन्द्रीय समितिको बैठक कार्यवाहक सभापति खड्काले धकेल्दै लगे।
कात्तिक २८ गते देउवा स्वदेश फर्किए। त्यसपछि भने यसअघि आकलन गरिएजस्तो देउवा राजनीतिबाट छेउ लागेनन्। पुनः पार्टीमा सक्रिय हुन थाले। देउवाले नै पार्टीका नेताहरूलाई आफ्नै निवास महाराजगञ्जमा जुटाएर सहमतिको प्रयास थाले।
पटकपटकको छलफलपछि १५ औँ महाधिवेशनको तालिका ल्याउन सहमत गराए। त्यही सहमति अनुसार खड्काको अध्यक्षतामा बसेको बैठकले निर्णय गर्दै मंसिर १५ गते महाधिवेशनको तालिका सार्वजनिक गर्यो।
कांग्रेसमा ६० नाघेका, ५० नाघेका र ४० नाघेका केन्द्रीय सदस्य छन्। उनीहरूको उमेर अनुसार रोजाइ पनि फरक छ।
गगन थापा र कल्याण गुरुङबाहेक १५ औँ महाधिवेशनमा सभापति उठ्ने घोषणा गर्नेहरूमध्ये अधिकांश ६० नाघेकै छन्।
त्यही भएर कांग्रेसमा नेतृत्वको चयन रोचक हुनसक्ने नेताहरू आकलन गर्छन्।
पछिल्ला तीनवटा महाधिवेशनमा एकै चरणमा सभापति चयन हुन सकेको छैन। कुनै पनि नेताले पहिलो चरणमै ५१ प्रतिशत मत पाएका छैनन्।
यसपटक झन् आकांक्षीको व्यवस्थापन जटिल हुनसक्ने देखिएको छ। सभापति देउवाले कसैलाई बचन नदिनुको कारण यही हो।
गगनको विश्वास : अन्तिम समयमा देउवाको साथ
अन्तिम समयमा देउवाको साथ पाइने थापालाई विश्वास छ। आफूले अगाडि सारेको विशेष महाधिवेशनको एजेन्डामा बहुमत जुट्नु उनका लागि एकखालको मत सर्वेक्षण पनि हो।
तथापि, यिनै प्रतिनिधि आसन्न महाधिवेशनमा हुन्छन् भन्ने निश्चित नभए पनि अधिकांश दोहोरिन सक्छन्। अर्काे कुरा, जेनजी आन्दोलनपछि नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्छ भन्ने माग चर्काे छ। कांग्रेसभित्र पछिल्लो पुस्ताका प्रतिनिधिको माग गगन थापा हुन्।
१४ औँ महामन्त्रीमा पाएको मतले पनि उनलाई उत्साहित बनाएकै छ। झण्डै दुई तिहाइ मत पाएका थापा यसपटक पनि बहुमतले आफ्नो साथ नछोड्ने विश्वासमा छन्।
त्यसमाथि, धेरै जिल्ला सभापतिहरूले पनि देउवालाई थापाको पक्षमा खुल्न आग्रह गरेको निकटस्थ नेताहरूको भनाइ छ।
महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलको अन्तिमसम्म साथ रहनेमा उनी ढुक्क छन्। महामन्त्री शर्माले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा थापालाई सभापति बनाउने बताए।
‘अहिलेको बेलामा नेतृत्व गर्नका लागि म भन्दा तुलनात्मक रूपमा गगन थापा उपयुक्त हुनुहुन्छ, अब कसैले किराना पसल चलाइरहनुभएको छ, अबको प्रधानमन्त्री को, भनेर सोध्नुहुन्छ भने– गगन थापा,’ उनले भनेका छन्।
अहिले सात भाइ पूर्व पदाधिकारी पनि सभापतिका आकांक्षी छन्। अन्तिम अवस्थामा उनीहरूको पनि साथ पाउनेमा थापा आशावादी छन्।
‘माथिल्लो तहका नेताहरू गगनजीको पक्षमा लाग्न थालिसके,’ देउवाको पक्षमा रहेका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘कतिपय इगोको कारणले उहाँको विपक्षमा पनि छन्।’
तर, शेखरसँगको गठबन्धन टुटाएको कारण थापासँग कतिपय नेता असन्तुष्ट छन्। १४ औँ महाधिवेशनमा शेखरकै टिमबाट थापा महामन्त्री चुनिएका थिए।
‘शेखरसँग गगन हुनुपथ्र्याे, फुट्नु हुँदैनथ्यो,’ एक नेताले भने।
कार्यवाहक हुँदा जितेको विश्वासले आशावादी खड्का
असोज २८ देखि कार्यवाहक सभापति बनेका पूर्णबहादुर खड्काले देउवाको इसारामा पार्टी चलाए। महामन्त्रीद्वयको दबाब हुँदा पनि उनले बैठक राख्न हतारो गरेनन्। सिंगापुर रहेका देउवासँग नियमित सम्पर्क गरेर उनको सुझाव अनुसार काम गरे। यही गतिविधिले देउवाको विश्वास जितिसकेको उनको बुझाइ छ।
‘पूर्णबहादुर इमानदार र दाग नलागेका व्यक्ति हो। उहाँको अनुहारमा शेरबहादुर देउवा देखिन्छ,’ एक नेताले भने, ‘व्यक्तिगत रूपमा क्लिन नेता हो।’
तथापि, उनले अहिलेसम्म सभापति उठ्ने भनेर सार्वजनिक गरिसकेका छैनन्।
‘भित्रभित्र उहाँले तयारी गरिसक्नुभएको छ,’ निकट अर्का नेताले भने, ‘सभापतिको लाइन क्रस नगरी फटाफट काम गरेको हुनाले सहयोग पुग्न सक्छ।’
कोइराला परिवारको विरासत बोकेका शेखर
१४ औँ महाधिवेशनमा दोस्रो चरणको मतदानमा पुगेपछि देउवासँग पराजित भएका शेखर कोइराला कांग्रेसभित्र प्रभावशाली उम्मेदवार मानिन्छन्। सभापतिमा पराजित भएपछि इतर खेमाको नेतृत्व गरेकाले उनको देशव्यापी पकड कायमै छ।
थापा र उनका केही केन्द्रीय सदस्यबाहेक १४ औँ महाधिवेशनमा साथ दिएका नेता उनीसँगै छन्। त्यसबाहेक जिल्ला दौडाहबाट उनले केही नेताको मन जितेका छन्।
कोइराला परिवारको विरासतले पनि काम गर्ने विश्वासमा उनीपक्षीय नेताहरू छन्। शशांक कोइराला लगायत पनि शेखरकै पक्षमा उभिने उनीनिकट नेताहरू बताउँछन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उनले सभापति देउवासँग निकै सम्हालिएको सम्बन्ध राखेका छन्। यही कारण यसपटक देउवाले समर्थन गर्नेमा उनी आशावादी छन्।
‘यसपटक शेखर कोइराला हो। किनभने उहाँले सबै पुस्ताको नेतृत्व गर्नुहुन्छ। उम्मेदवारको कम्बिनेसन कस्तो हुन्छ त्यसमा केही कुरा भर पर्ला तर, सभापतिमा उहाँ नै हो,’ उनी निकट केन्द्रीय सदस्य गोविन्द पोखरेलले भने।
पहिलादेखिको संरचना रहेको र इतर खेमाको नेतृत्व गरेकोले शेखरलाई देउवा पक्षका नेताले साथ दिने सम्भावना रहेको निकट नेता दाबी गर्छन्।
‘कांग्रेसमा ६० वर्ष नाघेका ६० प्रतिशत नेता होलान्, सबै एकैपटक रिटायर्ड हुन चाहँदैनन्। जेल परेका छन्, लगानी छ,’ उनले भने, ‘उनीहरूले गगन थापालाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहन्छन् होला। तर, राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तित्व देखाउन सक्ने, सबैले विश्वास गर्ने शेखरजी हो, कांग्रेसको ट्रान्जिसनल फेजको नेतृत्व उहाँलाई दिँदा सबैले स्वीकार गर्ने देखिन्छ।’
१३ औँ महाधिवेशनमा सभापति उठेर हारेका कृष्णप्रसाद सिटौला, १४ औँ महाधिवेशनमा सभापति उठेर दोस्रो चरणमा देउवालाई समर्थन गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले यसपटक पनि उठ्न रुचि देखाएका छन्।
पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला पनि १५ औँ महाधिवेशनमा सभापति लड्न खोज्दैछन्।
यी सात जनामध्ये एक जना मात्र उठ्ने भने पनि उनीहरूले उम्मेदवार टुंगो लगाउन सकेका छैनन्।
उम्मेदवार जो भए पनि यसपटक कांग्रेसमा त्रिपक्षीय प्रतिस्पर्धा हुने नेताहरूको भनाइ छ।
‘हाम्रो स्वाभाविक उम्मेदवार भनेको पूर्णबहादुर हो। तर उहाँले पनि सबैलाई समेटेर लान नसकेको अवस्था छ, त्यसकारण त्रिकोणात्मक परिवेश बनिरहेको छ। त्यही भएर मानिस अन्योलमा छन्, कहाँ जाने के गर्ने? तीनैजना बलिया दाबेदार छन्,’ एक नेताले भने, ‘त्यही भएर शेरबहादुर देउवा कतै नखुली तटस्थ बस्न पनि सक्नुहुन्छ।’
‘देउवाले आफ्नो कार्ड अहिले नै खोल्नुहुन्न, संभवतः दोस्रो राउण्डमा मात्रै सभापतिमा एक जनालाई समर्थन दिएर मिलाउनु हुन्छ’, देउवा निकट एक नेता भन्छन्।
Shares

प्रतिक्रिया