अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारी लगायत अन्य प्रतिवादीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। विशेष अदालतको फैसलामा चित्त नबुझेपछि आयोग पुनरावेदन गर्न सर्वोच्च पुगेको हो।
रााजभण्डारी र अन्य प्रतिवादीमाथि गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी ३ करोड ५६ लाख ७७ हजार बिगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतमा लामो सुनुवाइपछि फैसला हुँदा अख्तियारले हारेको थियो। राजभण्डारीलाई 'जलस्रोत बादशाह' पनि भनिने गरेको छ।
विशेषको फैसला चित्त नबुझेपछि संवैधानिक आयोग पुनरावेदन गर्न बुधबार सर्वोच्च पुगेको हो। आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले विशेष अदालतको फैसला आयोगलाई चित्त नबुझेको बताए।
‘तत्कालीन महानिर्देशक राजभण्डारीसहितले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको निष्कर्षसहित हामीले विशेषमा मुद्दा दायर गरेका थियौँ’, अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारी भन्छन्, ‘तर, अदालतको फैसलाले हाम्रो दाबीलाई सम्बोधन गर्न सकेन, त्यसैले न्यायको लागि सर्वोच्चमा पुनरावेदन गरिएका हौँ।’
यो बहुचर्चित मुद्दाको अन्तिम निरूपण अब सर्वोच्चबाट हुनेछ।
Shares

प्रतिक्रिया