राजनीति


ओलीसँग सम्पर्कमै छु, प्रधानमन्त्रीको प्रस्ताव सही नियतले आएको होः वामदेव

ओलीसँग सम्पर्कमै छु, प्रधानमन्त्रीको प्रस्ताव सही नियतले आएको होः वामदेव

मणि दाहाल
बैशाख १९, २०७७ शुक्रबार १२:२३,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई प्रधानमन्त्री बनाउने भनी ल्याएको प्रस्तावबाट उत्साहित हुँदै समर्थन जुटाउन कसरत सुरु गरेका छन्।

पार्टीमा कुनै विषयमा विवाद हुँदा खुलेर एकातर्फ लाग्ने गौतम अहिले तीव्ररुपमा विभाजित रहेको नेकपा शीर्ष नेतृत्वको दुवै खेमासँग उनले समदूरी कायम राख्ने प्रयास गरेका छन्।

पछिल्ला केहि दिनदेखि उनका भेटघाट र संवाद नजिकबाट नियालेका नेकपाका नेताहरुले उनको स्वभाविक कार्यशैलीभन्दा फरक रहेको बताए।

प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल सबैसँग गौतम निरन्तर सम्पर्कमा रहेको उनको सचिवालयले जनाएको छ।

‘प्रधानमन्त्रीबाट आएको प्रस्तावलाई गौतमले सकारात्मक रुपमा लिनु भएको छ। ओलीसहित पार्टीको शीर्ष नेतृत्वसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ,’ गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले नेपालखबर भने, ‘अन्य नेताहरुसँग पनि सम्पर्कमै रहनुभएको छ।’

गौतमसँगको टेलिफोन सम्पर्कमा अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री नेपालले प्रधानमन्त्रीबाट आएको प्रस्ताव वास्तविक हो वा रणनीतिक कार्ड मात्रै हो भन्ने कुरा शनिबारको बैठकमा प्रधानमन्त्री कुन रुपमा प्रस्तुत हुन्छन् त्यसबाट स्पष्ट हुने गौतमलाई बताएका थिए। शनिबार सचिवालयको बैठक बस्दैछ।

गौतमले भने आफूलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावलाई सहि नियतका साथ आएको भन्दै त्यसबाट आफू उत्साहित भएको बताएका छन्।

पछिल्लो दुई दिनमा उनले नेकपाका दोश्रो तहका नेताहरुसँग पनि भेट गरेका छन्। भेट्ने नेताहरुले समेत गौतम प्रस्तावबाट उत्साहित भएको पाएको बताएका छन्।

बुधबारको सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउन सकिने धारणा राखेका थिए।

प्रधानमन्त्री ओलीको सो प्रस्तावमाथि शनिबार हुने सचिवालय बैठकमा विस्तृतरुपमा छलफल हुने नेताहरुले बताएका थिए।

गत आमचुनावमा बार्दियाबाट पराजित भएका गौतम उपनिर्वाचनमार्फत् चुनिएर आउने पटक पटक कोशिस गरेका थिए।

तर उनको त्यो प्रयास सफल हुन सकेन। यसअघि आफूलाई निर्वाचित हुनबाट रोक्ने काम नेतृत्व तहबाटै भएको गुनासो गर्ने गरेका छन्।

स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे लगायत केहि नेताले गौतमलाई बिहीबार भेट गरेका थिए। पाण्डेले कम्तीमा तीन विषयमा प्रधानमन्त्री तयार भए मात्रै सो प्रस्ताव स्वीकार्न सुझाव दिएका थिए।

प्रधानमन्त्री ओलीले पदबाट राजिनामा गर्ने निर्णय निश्चित गर्ने, गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन मन्त्रिपरिषदबाट निर्णय गरी त्यसको तत्काल कार्यान्वयन र संविधान संशोधन गरी राष्ट्रियसभाको सांसद पनि प्रधानमन्त्री बन्न पाउने प्रस्ताव ओलीले संसदमा लैजाने र पारित हुने आधार निश्चित गर्नुपर्ने पाण्डेले सुझाएका थिए।

भेटमा सहभागी एक नेताका अनुसार पाण्डेले ती तीन आधार तयार हुने भए मात्र ओलीको प्रस्तावलाई पत्याउन सकिने बताएका थिए।

‘भेटमा पाण्डेले विगतमा पनि गौतमले पटकपटक धोका पाएको भन्दै यसपटक न्यूनतम तीन आधार तयार हुनेभए मात्रै अघि बढ्न सुझाव दिएका थिए,’ सो भेटबारे जानकार नेपाल पक्षका अर्का एक नेताले भने, ‘गौतम प्रधानमन्त्री बन्ने ठोस आधार तयार भए आफूहरु (नेपाल पक्ष) को तर्फबाट कुनै प्रकारको अवरोध नहुने जानकारी गराएका थिए।’

पार्टीको संगठन विभाग प्रमुख समेत रहेका गौतमलाई सोहि विभागको उपप्रमुख रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले पनि बिहीबार बिहान उनकै निवासमा पुगेर भेट गरेका थिए।

वर्तमान संविधानले प्रतिनिधिसभाको सदस्यलाई मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेको छ।

यसअघि गौतमले राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्न संविधान संशोधन गराउन खोज्दा नेकपाभित्र गम्भीर विवाद सिर्जना भएको थियो।

भैसेपाटीस्थित आफ्नो निवासमा ओलीइतर नेताहरु सम्मिलित गठबन्धनको पटक पटक बैठक राखेका गौतमलाई आफ्नो पक्षमा पार्न दुवै पक्ष लागेका छन्।

जुनसुकै समयमा पनि क्याम्प परिवर्तन गर्न र राजनीतिक ‘कोर्स’ नै मोड्न सक्ने गौतमबारे सबैको चासो बढेको छ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल सहितको नेताहरुको गठबन्धनले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि पेचिलो बनेको नेकपा शक्ति संघर्षमा वामदेव गौतमको भूमिका के हुन्छ भन्नेमा सबैको चासो छ।

नेपाल पक्षका केहि नेताले गौतम दुवैतर्फ उत्तिकै सम्पर्कमा रहेको बताए।

आफ्नै निवासमा ओलीइतर नेताहरुको बैठक गराइरहेका गौतमले पत्नी तुल्सी थापासहितका आफू निकट केही सांसदलाई प्रधानमन्त्री निवासको भेलामा पठाएर बालुटावारप्रति पनि ग्रीन सिग्नल दिएका थिए।

सचिवालय बैठकमा जब ओलीले प्रधानमन्त्री बनाउनु पर्दा गौतमलाई बनाउँ भनेपछि गौतम स्वयंले ‘त्यसो भए पहिले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने त्यसपछि उम्मेदवार छान्ने कुरामा समस्या नहुने बताएर’ आफू भैसेपाटी गठबन्धनमै नछाडेको जनाउ पनि दिएका थिए।

ओलीलाई दोस्रो संविधानसभा चुनावपछि संसदीय दलको नेता र तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्ष बनाउन प्रमुख भूमिका खेलेका गौतमको पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध उतार चढावपूर्ण रहँदै आएको छ।

याे पनि: 
वामदेव निकट नेताहरू नै भन्छन्: प्रधानमन्त्री बनाउने प्रस्तावमा शंकैशंका छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .