राजनीति


सार्कलाई थप गतिशील बनाउन नयाँ संकल्प आवश्यक : प्रधानमन्त्री कार्की

सार्कलाई थप गतिशील बनाउन नयाँ संकल्प आवश्यक : प्रधानमन्त्री कार्की

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १०:६, काठमाडौँ

प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगनठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छन्।

सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनताका आकांक्षा पूर्ण गर्न सकिने उल्लेख गरेकी छन्।

‘झण्डै चार दशकअघि हाम्रा संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गर्नुभएको थियो। उहाँहरूको सामूहिक दूरदृष्टिले सार्कको जन्म दियो, एक यस्तो मञ्चको रूपमा, जसले क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने, मित्रताको सम्बन्ध सुदृढ गर्ने र हाम्रा जनताको कल्याण वृद्धि गर्ने उद्देश्य राख्दछ’, उनले सन्देशमा भनेकी छन्।

प्रधानमन्त्री कार्कीले विगत वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र यस क्षेत्रभर जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका पहल अघि बढाउन महत्त्वपूर्ण मञ्चको रूप लिन सफल भएको उल्लेख गरेकी छन्।

खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता समयका जटिल चुनौती सामना गर्न सामूहिक आत्मनिर्भरता गहिरो बनाउने, साझा क्षेत्रीय पहिचानलाई पोषित गर्ने कार्यमा सार्क चार्टर निरन्तर मार्गदर्शक बनेको उनको भनाइ छ।

उनले हाल अध्यक्षका रूपमा नेपालले सार्क चार्टरमा निहित सिद्धान्तअनुसार मित्रता, एकता तथा सहमतिको भावनाअनुसार सबै सदस्य राष्ट्रसँग नजिकबाट सहकार्य गर्ने दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको उल्लेख गरेकी छन्। 

संयुक्त प्रयासमार्फत साझा विकास लक्ष्यतर्फको प्रगतिलाई छिटो पार्न सकिने र यस क्षेत्रमा बसोबास गर्ने विश्वको एकचौथाइ जनताका लागि ठोस लाभ पुर्‍याउन सकिने प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छन्। 

उनले यस चार्टर दिवसले सबैमा नयाँ प्रतिबद्धता, गहिरो सहकार्य र क्षेत्रीय एकताको पुनर्जीवित भावना जगाओस् भनी शुभकामना दिएकी छन्। 

सार्कको स्थापना सन् १९८५ आजकै दिन अर्थात् डिसेम्बर ८ मा बंगलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षर भएपछि भएको हो।

सार्कमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी आठ सदस्य राष्ट्र छन।

यस संगठनको सचिवालय १७ जनवरी १९८७ मा काठमाडौँमा स्थापना गरिएको हो।

सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखको बैठक सार्कअन्तर्गतको सबैभन्दा उच्च निर्णय निर्माण निकाय हो। शिखर बैठक सामान्यतया दुई/दुई वर्षमा हुन्छन् र वर्णानुक्रमअनुसार सदस्य राष्ट्रले पालैपालो आयोजना गर्छन्।

शिखर सम्मेलन आयोजना गर्ने सदस्य राष्ट्रले उक्त अवधिमा संगठनको अध्यक्षता ग्रहण गर्छ।

सार्कअन्तर्गत हालसम्म १८ शिखर सम्मेलन भएका छन्।

सार्कको १८औँ शिखर सम्मेलन सन् २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौँमा भएको थियो।

त्यसयता र्साकको शिखर सम्मेलन हुन सकेको छैन। संगठनका सबै तहका निर्णय सर्वसम्मतिका आधारमा गरिने र द्विपक्षीय तथा विवादास्पद विषय संगठनको छलफलबाट बाहिर राखिनेलगायत सार्क चार्टरका उद्देश्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad