राजनीति


प्रचण्ड, नेपाल र खनाललाई ज्ञवालीको प्रश्न- ४१८४ दिन सरकारमा तपाईँहरू बस्ने, दोष जति सबै ओलीले लिनुपर्ने?

प्रचण्ड,  नेपाल र खनाललाई ज्ञवालीको प्रश्न- ४१८४ दिन सरकारमा तपाईँहरू बस्ने, दोष जति सबै ओलीले लिनुपर्ने?

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०८२ सोमबार १३:४१, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपामा समाहित भएका तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीका नेतालाई लक्षित गरेर विभिन्न प्रश्न गरेका छन्। 

सामाजिक सञ्जाल मार्फत् उनले नव गठिन नेपाली कम्युनिस्ट पार्टीले एमालेलाई विनाआधारका आरोप–प्रत्यारोप, गालीगलौज गरिरहेको भन्दै विना आधारका आलोचनाबाट जोगिएर तथ्य, सिद्धान्त र व्यवहारमा आधारित राजनीतिक प्रतिस्पर्धा गर्न सुझाव दिएका छन्। 

‘नेपाली कम्युनिष्ट पार्टी’ को ‘एकता सन्देश सभा’मा प्रचण्ड, माधव नेपालसहितका नेताले दिएका अभिव्यक्तिलाई लक्षित गर्दै ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्। 

‘दुई दशकसम्म ‘मार्क्सवादको विकासको तेस्रो आयाम’ भनेर दाबी गरिएको ‘माओवाद’ लाई मार्गदर्शक सिद्धान्तबाट र पार्टी पहिचानको रुपमा रहेको ‘माओवादी’ ब्राण्डलाई पार्टीको नामबाट किन परित्याग गर्नु पर्यो? कुनै स्पष्टीकरण छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनयुद्ध’ का नाममा भएको त्यो भयानक क्षति र त्यसको बिरासत किन अलपत्र पर्‍यो  कुनै जवाफ छैन।’

उनले नेकपामा समाहित भएका पूर्व एमाले नेताहरुलाई जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त हो भनेर पुष्टि गर्न नेकपा (एमाले) को आठौँ महाधिवेशनमा प्रस्तुत गरिएका २३ वटा आधारहरु आज के भए? भनेर पनि प्रश्न गरेका छन्। 

यस विषयमा माधव नेपाल (तत्कालीन प्रस्तोता) को तर्फबाट कुनै तर्कसङ्गत जवाफ नआएको उनको भनाई छ। 

‘अबको कार्यदिशा, बाटो र सैद्धान्तिक रुपरेखा के हो? कुनै चर्चा छैन,’ ज्ञवालीले नेपाललाई लक्षित गर्दै भनेका छन्, ‘एमसीसी लगायत विभिन्न विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने साथीहरू र त्यसलाई पारित गराउन निर्णायक भूमिका खेल्नुहुनेमध्ये को कसको अजेण्डामा ‘विलय’ भएको हो? कुनै प्रत्युत्तर छैन।’

उनले गणतन्त्र स्थापनादेखि भदौ २४ गतेसम्मका कुल १७ वर्ष ३ महिना १० दिन (कुल ६ हजार ३०५ दिन) मध्ये नेतृत्वमा २५४२ दिन (प्रचण्ड ११५४, बाबुराम ५६२, माधव ६२२ र झलनाथ २०४) र सरकारमा ४१८४ दिनभन्दा बढी सहभागी हुँदाका गुणदोषको कुनै जिम्मा लिनु नपर्ने, तर आजकाे समग्र सङ्कटको जवाफदेही चैँ १९६१ दिनसम्म नेतृत्व गरेका केपी शर्मा ओलीले लिनु पर्ने हो? भन्ने प्रश्न पनि गरेका छन्। 

यो तथ्यप्रति प्रचण्ड र माधव नेपालहरुले कुनै तर्कसङ्गत विश्लेषण नगरेको उनको दाबी छ। 

‘हुँदाहुँदा प्रदेशहरुमा चलेका ‘गाली पुराण’ मा नयाँ पण्डित थपिनु भएछ, राजेन्द्र श्रेष्ठ,’ ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजेन्द्र श्रेष्ठले भन्न भ्याउनु भएछ- एमालेको सदस्यता ८ लाखबाट घटेर ३ लाखमा झरेको छ। मानौँ उहाँ केही दिन अगाडिसम्म एमालेको सङ्गठन विभागमा डेटा इन्ट्री गर्ने (कम्प्युटर अपरेटर) हुनुहुन्थ्यो।’

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अकबरले कोरेको धर्कोलाई छोटो बनाउन वीरबलले जस्तै त्यसको छेउँमा लामो धर्को ताने भइहाल्छ। एमालेभन्दा राम्रो, ठूलो र उम्दा पार्टी बनाए भइगयो त। स्रोतासमेत दिक्क हुने गरी कति गाली सप्ताह लगाउनु हुन्छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad