राजनीति


देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा

देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १७:४०, काठमाडौँ

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस पनि सर्वोच्च अदालत पुगेको छ। शुक्रबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै आइतबार सर्वोच्चमा रिट दायर गरिएको हो। 

प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए। ‘वारेसमार्फत सर्वोच्च अदालतमा रिट दिएका छौँ,’ घिमिरेले नेपालखबरसँग भने। 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनलाई असंवधौनिक भनेको थियो। यसअघि नेकपा (एमाले)ले पनि प्रतिनिधि सभा विघटनविरुद्ध मंसिर ९ मा सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। 

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालत गएपछि एमालेले अन्य पार्टीको पनि साथ खोजिरहेको थियो। त्यसकै क्रममा एमाले अध्यक्ष ओलीले शुक्रबार कांग्रेस सभापति देउवालाई भेटेका थिए। 

जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो पटक भेटवार्ता भएको थियो। भेटवार्तापछि कांग्रेस पनि एमालेकै ‘लाइन’मा देखिएको छ। 

आन्दोलनअघि कांग्रेस–एमालेले सत्ता साझेदारी गरेका थिए। कांग्रेसको समर्थनमा ओलीले सरकारको नेतृत्व गरिरहेका थिए।

जेनजी आन्दोलनपछि ओलीले राजीनामा दिएका थिए। त्यसलगत्तै भदौ २७ गते बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले संसद् विघटन गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी आउँदो फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेका थिए। 

प्रतिनिधि सभा विघटनलाई सबै राजनीतिक दलले असंवैधानिक भनेका छन्। अन्य दलले चुनावमा जानुपर्ने निर्णय गरे पनि एमाले भने संसद् पुनःस्थापनको मुद्दा लिएर सर्वोच्च अदालत पुगेको थियो।

अहिले आएर कांग्रेसले पनि एमालेकै बाटो पछ्याउँदै प्रतिनिध सभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दिएको हो। प्रतिनिधि सभा विघटनविरुद्ध १८ वटा रिट सर्वोच्च अदालतमा विचाराधिन छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad