राजनीति


सभापतिको उम्मेदवार बनेर चाँडै देश दौडाहमा जान्छु : गगन थापा

सभापतिको उम्मेदवार बनेर चाँडै देश दौडाहमा जान्छु : गगन थापा

नेपालखबर
मंसिर २०, २०८२ शनिबार २०:५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापतिको उम्मेदवार बनेर देश दौडाहमा जाने बताएका छन्। 

नेपाल प्रेस युनियन सर्लाहीले शनिबार मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले नयाँ नीति र सन्देशका साथ सभापतिको उम्मेदवार हुने बताएका हुन्। ‘नयाँ नेतृत्व चयनका लागि चाँडै नै देश दौडाहामा जान्छु,’ उनले भने। 

महामन्त्री थापाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने बहसमा केही समय खेर गएको भए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा सहभागी हुने बताए। उनले विर्नाचनाम होमिन सबैलाई आग्रह गरे। 

फागुन २१ को निर्वाचनले संविधानमाथिको थप क्षति हुन नदिने बुझाइसहित कांग्रेसले निर्वाचनको बाटो रोजेको उनको भनाइ थियो। ‘हामी फागुन २१ को निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौँ। अन्य दलहरू पनि तयार भइसकेकाले सरकारले सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ,’ थापाले भने, ‘जेनजी प्रदर्शनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती हुनसक्ने कुरा सरकारलाई अवगत गराइसकेका छौँ। सरकारले समयमै त्यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्नुपर्छ।’

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राखेको सर्वदलीय बैठकमा पनि यस विषयमा ध्यानाकर्षण गराएको उनले जानकारी दिए। सबै समूह र राजनीतिक दलले चुनावमा भाग लिन पाउनुपर्ने उनको भनाइ थियो। 

उनले काठमाडौँबाटै चुनाव लड्ने बताए। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ-४ बाट निर्वाचित भएका थिए। 

कांग्रेसको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाएको उनको भनाइ थियो। कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको उल्लेख गर्दै दुवै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad