नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनेजी आन्दोलनसम्बन्धी छानबिन आयोगमाथि सहिद परिवारलाई ‘कोचिङ’ गरेको गम्भीर आरोप लगाएका छन्।
शनिबार च्यासलमा आयोजित एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन लक्षित नवयुग ई-बुलेटिन शुभारम्भ समारोहमा बोल्दै उनले आयोगले तथ्य पत्ता लगाउनेभन्दा पनि कथित रूपमा बयान मिलाउने अभ्यास गरिरहेको दाबी गरे।
‘अहिले तथाकथित जाचबुझ आयोग बनेको छ नि, त्यो आयोगका अध्यक्षसहितका पदाधिकारीहरू उहाँहरुले बनाउनु भएको सहिद तथा घाइते परिवारको कार्यालय जानु भयो,’ ओलीले भने, ‘सहिदका परिवार कार्यालय खोलेर बस्छन्? यहाँ त कार्यालय खोलेर त्यहाँबाट अनेक तत्वले सहिदको नाममा अनेक राजनीति गरिराखेका छन्।’
‘सिंगै आयोग त्यहाँ पुग्यो २७ वटा प्रश्नावली लिएर। र, त्यहाँ कोचिङ चलायो,’ उनले थपे।
छानबिन आयोगका अध्यक्षसहितका पदाधिकारीहरू ४ दिनअघि सहिद तथा घाइते परिवारको नाममा खोलिएको कार्यालयमा पुगेको समेत ओलीको दाबी छ। त्यहाँ पुगेर आयोगका पदाधिकारीले फलाना, फलानालाई पोल्नु भनेर सिकाएको समते उनले गम्भीर आरोप लगाए।
ओलीले भने, ‘यसमा यसो भन्ने, हामीले यसरी गोली हानेको देखेका हौँ। हामीले आदेश दिएको देखेका हौँ। फलना, फलानालाई समाउनै पर्छ। थुन्नै पर्छ। होइन भने हामी मान्दैनौँ। हाम्रो काख रित्तिएको छ। हाम्रो छोरा छोरी मारिएका छन, हामी सहदैनौँ, सहन सक्दैनौँ। यसो भन्ने, फलनालाई पोल्ने। यस्तो आधार तयार गर्ने। आदि, इत्यादि उहाँहरू कोचिङ गर्दै हुनुहुन्थ्यो ४ दिन अगाडि।’
Shares

प्रतिक्रिया