राजनीति


माधव नेपालले ओलीलाई भनेः म तेस्रो अध्यक्ष बन्दिनँ, तपाईं राजीनामा दिनुस्

माधव नेपालले ओलीलाई भनेः म तेस्रो अध्यक्ष बन्दिनँ, तपाईं राजीनामा दिनुस्

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १५:३,

पार्टीको तेस्रो अध्यक्ष बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्ताव सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग आज साँझ भएको भेटमा नेपालले सो प्रस्ताव अस्वीकार गरेका हुन्।

‘आज प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट भएको छ। प्रधानमन्त्री ओलीले तेस्रो अध्यक्ष हुनका लागि राख्नु भएको प्रस्ताव नेता नेपालले अस्वीकार गर्नु भएको छ,’ नेता नेपाल निकट एक नेताले भने।

उनले ओलीले पार्टी र सरकार दुवैको नेतृत्व छाड्नुपर्ने निश्कर्षमा नेता नेपाल रहेको स्पष्ट पारे।

‘ओलीले पार्टी र सरकार दुवैको नेतृत्व गर्न नसक्ने निश्कर्षमा अहिले पनि कायम छौँ। त्यसैले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छाड्नु पर्ने विषयमा अडिग छौं,’ ती नेताले भने।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको महामारी सकिएपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए।

सो बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री नेपाल, झलनाथ खनालसहितको नेताहरुले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए।

बुधबारको सचिवालयमा प्रधानमन्त्री ओलीले राखेको प्रस्तावमाथि शनिबार छलफल हुने नेताहरुले जनाएका छन्।

बिहीबार साँझ प्रधानमन्त्री ओलीले नेता नेपाललाई संवैधानिक निकायहरुमा गरिने नियुक्तिका लागि छलफल गर्न बेलाएको नेपाल निकट नेताहरुले बताएका छन्।

यसअघि भएको छलफलमा ओली पक्षले चाँडो महाधिवेशन गरेर नेतृत्व लिन नेपालसँग प्रस्ताव गरेको थियो। तर, नेपालले सो प्रस्ताव पनि अस्वीकार गरेका थिए।

संगठित सदस्यहरुको समेत विवरण अध्यावधिक नभएको अवस्थामा महाधिवेशन हुन नसक्ने नेता नेपालको तर्क थियो। ओली पक्षले मंसिरमा एकता महाधिवेशन गर्ने र नेतृत्वमा नेपाललाई पुर्‍याउने प्रस्ताव गरेका थिए।

सोमबार नेपाल र ओली पक्षबीच भएको अनौपचारिक वार्तामा केही प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु परिवर्तन गरेर नेपालले सिफारिस गरेकालाई मन्त्री र मुख्यमन्त्री बनाउने प्रस्ताव पनि ओलीले राखेका थिए।

मुख्य समस्या ओलीको कार्यशैलीमा रहेको भन्दै नेता नेपालले मन्त्री र मुख्यमन्त्री परिवर्तनले निकास नदिने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad