राजनीति


वाइडबडी खरिद प्रकरण: कांग्रेस नेता शाहीलाई जेल सजाय माग गर्दै सर्वोच्च पुग्यो अख्तियार

वाइडबडी खरिद प्रकरण: कांग्रेस नेता शाहीलाई जेल सजाय माग गर्दै सर्वोच्च पुग्यो अख्तियार

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १६:२८, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। कांग्रेस नेता तथा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीसहितलाई उन्मुक्ति दिने तथा कम सजाय तोक्ने विशेष अदालतको फैसलाविरुद्ध आयोगले मंगलबार सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो। 

दुई वटा वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले केही प्रतिवादीलाई दोषी ठहर गर्दै नेता शाहीसहितलाई सफाइ दिइएको थियो। विशेष अदालतबाट दाबी अनुसारको बिगो तथा सजाय नभएको भन्दै सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारले भनेको छ।  

वाइडबडी खरिद प्रकरणमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको छ। अख्तियारद्वारा जारी विज्ञप्तिमा विमानको भारवहन क्षमता र मूल्य वृद्धिका नाममा बदनियतपूर्ण ढंगले रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको उल्लेख छ। 

आयोगले आपूर्तिकर्तालाई बदनियत राखी ६७ लाख ८८ हजार १०९ अमेरिकी डलर ६० सेन्ट (नेपाली ७४ करोड ५८ लाख ७७ हजार ४८२ रुपैयाँ) बढी भुक्तानी गरिएको भनेको छ। यसैगरी २४२ टन क्षमताको विमानका लागि सम्झौता भए पनि २३० टन क्षमताको विमान ल्याउँदा १२ टनको मूल्य घटाउनुपर्नेमा नघटाइ उल्टै २४२ टनकै मूल्य भुक्तानी गर्दा ६६ लाख अमेरिकी डलर (नेपाली ७२ करोड ५२ लाख आठ हजार रुपैयाँ) हानी नोक्सानी पुर्‍याइएको दाबी छ। 

विशेष अदालतले पूर्व महाप्रबन्धक सुगत रत्न कंसाकार, पूर्वसचिव शंकर प्रसाद अधिकारी लगायतलाई दोषी ठहर गरे पनि आयोगले माग दाबी गरे अनुसार सबैलाई सजाय नभएको र बिगो बमोजिम कारबाही नभएको अख्तियारको जिकिर छ। यस विषयमा विभिन्न राजनीतिक दलका नेताहरूबीच आरोपप्रत्यारोप पनि हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad