नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सन्देश सभामा उपस्थिती कम भएपछि निराश भएका छन्। कार्यक्रममा भाषण सुन्ने कार्यकर्ता कम भएपछि भाषण सुरु गर्ने बित्तिकै उनले भने, ‘मान्छेले नसुने पनि कुर्सीले त सुन्ला!’
ठूला ठाउँमा भरिभराउ कार्यकर्ताका बिचमा भाषण गर्न लालायित नेताहरू विराटनगरमा उपस्थिती सन्तोषजनक नदेखिएपछि निराश बनेका हुन्।
कार्यकर्ता कम हुने डरले विराटनगरको सभा नागरिकको भिडभाड हुने ठाउँ गुद्रीमा राखिएको थियो।
‘भन्ने कुरा जति सबै अघिल्ला वक्ताले भनिसक्नु भएको छ,’ उनले भने,‘सामुन्नेमा खाली कुर्सी मात्रै देख्छु, अब कुर्सीले भाषण सुन्ला।’
सबै गइसकेपछि के भन्नु भन्दै उनले प्रचण्डले बाँकी कुरा गर्ने बताए।
‘तपाईँहरूलाई पनि हतार रहेको छ, त्यसैले केही कुराहरू गर्छु’ भन्दै उनले यो जेनजी र बुढापाका सबैको पार्टी भएको भन्न भ्याए। उनले कोसी प्रदेश भित्र कम्युनिस्ट नेताहरूले पुर्याएको योगदानको चर्चा गरे।
नेपाल पछि बोलेका पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालले बोलेका कुरालाई सुधार गर्दै कुनै बृहद सभा नभई सन्देश सभा भएको बताएका थिए।
आजको सभा बृहद सभा नभई सन्देश सभा भएको उनको भनाई थियो।
उनले बिहान खचाखच उपस्थिति रहेको भए पनि अहिले केही कम हुनु स्वाभाविक भएको उल्लेख गरे।
उनले भने, ‘सन्देश सभामा पनि यो प्रदेश सबै जिल्लाबाट जस्तो उपस्थिति रह्यो उत्साहपूर्ण उपस्थिति हो, सबैलाई धन्यवाद दिन चाहन्छु।’
उनले यो उपस्थितिको लागि बधाई दिँदै उनले बचाउ गर्दै यति बेलासम्म बसेको भन्दै प्रशंसा गरे।
सोमबार विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीले सन्देश सभाको आयोजना गरेको थियो। सभामा विभिन्न तहका नेताहरूले सम्बोधन गरेका थिए।
Shares

प्रतिक्रिया