पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका निम्ति घातक हुने टिप्पणी गरेका छन्। शनिबार (मंसिर १३) जेनजी एलाइन्स फर मोनार्कीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले उक्त शासन व्यवस्था भए मुलुक नरहन सक्ने अवस्था आउने चेतावनी दिए।
जलस्रोतविद् समेत रहेका ज्ञवालीले उक्त शासन व्यवस्था ल्याउने प्रस्ताव राख्नेहरूले मुलुकलाई निरंकुशतामा धकेल्ने प्रयास गरिरहेको जिकिर गरे। उनले उक्त शासन व्यवस्थाविरुद्धको बहसमा खरो ढंगले उत्रन आवश्यक रहेकामा जोड दिए।
ज्ञवालीले केपी शर्मा ओली र शेरबहादुर देउवाहरूले नै मुलुकलाई कमजोर बनाएको आरोप लगाए।
ज्ञवालीको भनाइ
प्रत्यक्ष निर्वाचित कार्यकारी – त्योजतिको खतरनाक नेपालमा केही पनि हुँदैन। त्यो लेन्डुप दोर्जे र जेलेन्सकी जन्माउने प्रपञ्च हो। अप्रत्यक्ष हुँदा त देखिहाल्नु भयो कस्ता–कस्ता रहेछन् यहाँ ओली र देउवा ! अब प्रत्यक्ष भएको भएदेखि त के गर्थे होलान् ! यिनी त जेलेन्सकी र लेन्डुप दोर्जे हुन्थे होला। यिनीहरूले भारतमा लगेर मिसाइदिऊँ भने कसैले बोल्ने ठाउँ नै हुने थिएन। चाहिएको के हो भने यहाँ शक्ति पृथकीकरण र चेक एन्ड ब्यालेन्सलाई कसरी बलियो बनाउने हो। नेपालमा स्थिर सरकार आउनका लागि अरू नै उपायहरू छन्। यसले स्थिर सरकार ल्याउँदैन, निरकंशता जन्माउँछ। यो बहसमा हामी अघि बढी नै ओर्लनुपर्ने हुन्छ। नत्र देश नै हिँड्ने स्थिति आउन सक्छ।
Shares

प्रतिक्रिया