राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच हुने एकीकरणको मंसिर १४ गते एकता घोषणासभा आयोजना गरिने भएको छ।
रास्वपाको केन्द्रीय समितिको विशेष बैठकले विवेकशीलको एकीकरण गर्ने प्रस्तावलाई सहर्ष स्वागत गरेको रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले जनाएका छन्। उनका अनुसार, मंसिर १२ गते साँझ बसेको भर्चुअल बैठकले तीन वटा निर्णय गरेको छ।
रास्वपाको पहिलो निर्णयमा विवेकशीलसँगको एकता घोषणासभा तय गरिएको छ। निर्णयमा भनिएको छ, ‘विवेकशील साझा पार्टीद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने सर्वसम्मत प्रस्तावको रास्वपा केन्द्रीय समितिले सहर्ष स्वागत गर्दै आगामी मंसिर १४ गते आईतबार राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गर्ने।’
यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले रास्वपासँग एकता गर्ने निर्णय गरेको थियो।
त्यस्तै, रास्वपा केन्द्रीय समितिको बैठकले सचिवालयले गठन गरेको संघीय नेतृत्व मञ्चलाई अनुमोदन गरेको छ। रास्वपाको दोस्रो निर्णयमा भनिएको छ, ‘असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूसँग मुद्दागत र सांगठनिक सहकार्यका पृथक विधिहरू अवलम्बन गर्दै संवाद प्रक्रियालाई घनिभूत बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको उच्च संवाद समितिलाई केन्द्रीय समितिले २०८२/८/३ मा दिएको निर्देशन अनुरुप पार्टी सचिवालयद्वारा गठन भएको संयन्त्र सङ्घीय नेतृत्व मञ्च अनुमोदन गर्ने।’
यससँगै रास्वपाले उम्मेदवार छनोट अडिट समितिमा तीन जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको उपसभापति वाग्लेले जनाएका छन्।
Shares

प्रतिक्रिया