राजनीति


नख्खु जेलबाट रविले कुलमानलाई पठाएका यी ५ सन्देश, दुई सभापति बनाउने प्रस्ताव अस्वीकार

नख्खु जेलबाट रविले कुलमानलाई पठाएका यी ५ सन्देश, दुई सभापति बनाउने प्रस्ताव अस्वीकार

सागर न्यौपाने
मंसिर १२, २०८२ शुक्रबार २१:५६, काठमाडौँ

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनाव नजिकिँदै गर्दा परम्परागत दल र नयाँ शक्तिबीचको संघर्ष सतहमा आउँदै छ। संगठित र स्थापित भएका कारण परम्परागत शक्तिलाई चुनावमा जान सहज देखिए पनि नयाँ दलहरू असंगठित र स्थापनाको चरणमै छन्।

अघिल्लो चुनावमा परम्परागत शक्तिलाई धक्का दिएर स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा जेलमा हुँदा अप्ठेरोमा छ। पार्टीको पक्षमा माहोल बनाउने र जेनजीदेखि पुराना दलका समर्थकको मत समेत तान्न सक्ने नेताको खाँचो रास्वपालाई छ।

त्यसैले कुलमान घिसिङलाई भित्र्याएर लैजान सके लामो समयदेखि बर्चस्व जमाएका दललाई धक्का दिन सकिने रविको हिसाबकिताब छ। त्यही भएर केही महिनादेखि रास्वपा कुलमान भित्र्याउने प्रयास गरिरहेको छ। 

तर, कुलमानले कार्यकारी सभापति पाउनुपर्ने सर्त राखे। त्यसलाई स्वीकार्न रवि तयार भएनन्। त्यसपछि घिसिङकै अगुवाइमा उज्यालो नेपाल पार्टी दर्ता भयो। यसले रास्वपालाई दबाब थपिएको छ।

त्यसमाथि, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको समर्थन रहेकोले घिसिङलाई मिलाएर लैजानुपर्ने बाध्यता रवि लामिछानेलाई छ। किनकि, नयाँ मतदाता बाँडिँदा त्यसको असर आफ्नो दलमाथि पर्नसक्ने उनको बुझाइ छ।

उता, संगठन विस्तार गर्ने मौका नपाएका कुलमानलाई पनि ब्रान्ड बनिसकेको दल र चिह्न लिएर चुनावमा जान सके बलियो बन्न सकिने लागेको छ। त्यही भएर दुवैले एकता संवाद गर्न विश्वासिला नेता खटाए। 

पटकपटकको छलफलपछि एकताको सम्भावना बढेको नेताहरूले बताएका थिए। चुनावको लागि दल दर्ताको समय मंसिर १४ गतेसम्म कायम गरेपछि ‘ब्रेक थ्रु’ हुने तहसम्म छलफल पुगिसकेको नेताहरूले बताएका थिए।

तर, रविले राखेका केही अडानले परिस्थिति भाँडिन थालेको उज्यालो नेपाल पार्टीका नेताहरू बताउँछन्।

नख्खु जेलमा रहेका रवि र मन्त्री कुलमानबीच एउटै पार्टी बनाएर जाने विषयमा दुवै पक्षका नेताहरूको सम्पर्क सूत्रमार्फत धेरै चरणमा छलफल र सन्देशहरू आदानप्रदान भएका छन्। तर दुई नेताबीच प्रत्यक्ष भेटवार्ता हुन सकेको छैन। 

आफ्नो पार्टी रास्वपाका नेताहरू, कुलमान निकटका व्यक्तिहरू र बालेनका प्रतिनिधिहरू मार्फत् रविले कुलमान समक्ष खासगरी पाँच वटा सन्देशहरू पठाएका छन्। 

१. पार्टी सभापति कसैगरी छाड्दिनँ
बालेन्द्र शाहका निकटहरूले कारागारमै पुगेर रविलाई मुद्दाको किनारा नलागेसम्म सभापति छोडेर कुलमानलाई दिन आग्रह गरेका थिए। तर, रविले सो प्रस्ताव अस्वीकार गरे।

घिसिङले पनि कार्यकारी सभापतिको बटमलाइनबाट यताउता नहुने प्रस्ट जवाफ पठाए। 

यसकारण घिसिङले अनुपकुमार उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी गठन गरे। 

अहिले उनको दल संगठन विस्तारमा सक्रिय छ। खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालले उज्यालो नेपालकै चुनाव चिह्नमा लड्ने सहमति गरिसकेको छ। यो बाहेक अन्य केही दललाई मिलाउने प्रयासमा नेताहरू लागेका छन्। 

रास्वपाको सभापति बन्न नपाए मिल्न नसकिने निचोडमा पुगेका घिसिङसँग रास्वपाले फेरि संवाद अघि बढायो। उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा वार्ता गर्न केही नेतालाई जिम्मेवारी दियो।

पुनः छलफल हुँदा घिसिङ पक्ष लचक भयो। कुलमानले दुई सभापति बनाउने प्रस्ताव राखे। तर, त्यसमा पनि रवि तयार भएनन्। 

कुलमानलाई कार्यवाहक सभापति बनाए पनि एकता गर्न सकिने उनेपा नेताहरूले दिएको विकल्पमा समेत रविले सहमति जनाएनन्। 

‘मैले कार्यवाहक सभापति बनाएँ भने डीपीजी बिच्किनुहुन्छ, चुनावको बेलामा म मेरा विश्वासिलो नेता रिसाउने पार्दिनँ,’ रविको भनाइ थियो।

२. पार्टीको नाम र चुनाव चिह्न फेरिँदैन
रास्वपा र उनेपा एकता गरे पनि पार्टीको नाम र चुनाव चिह्न फेर्न रविले अस्वीकार गरेका छन्।

कुलमानको तर्फबाट रास्वपामा उज्यालो नेपाल जोड्ने प्रस्ताव प्रस्तुत भएपछि कारागारमा भेट्न पुगेका नेतामार्फत् रविले त्यसलाई स्वीकार नगर्ने बताएका हुन्।

‘रास्वपा र चिह्नकै कारण हाम्रो पार्टी देशभर लोकप्रिय छ,’ रविको भनाइ उद्धृत गर्दै एक नेताले नेपालखबरसँग भने, ‘यसमा यताउता गर्न सकिँदैन।’ 

३. वार्ता गर्न कुलमान नख्खु जेलमै आउन्
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले र कुलमानले पटकपटक छलफल गरेर मिलनविन्दुको खोजी गरेका थिए। यस्तै, उज्यालो नेपालबाट तारा जोशी, गणेश घिसिङ, प्रवक्ता राजु थापा सहभागी भए।

रास्वपाका शिशिर खनाल, पुकार बम लगायत नेतापनि संवादमा खटिए। 

उनेपाले रास्वपासँग एकता गर्दा चालीस प्रतिशत आफूहरूले पाउनुपर्ने प्रस्ताव राख्यो। 

यसमा पनि रास्वपा तयार भएन। उसले ३५ प्रतिशत मात्र दिन सकिने अडान राख्यो। 

थरीथरीका माग प्रस्तुत गर्ने र नेतामार्फत् कारागारमा सन्देश ल्याउँदै लैजाँदै गर्नुभन्दा सिधै कुलमानसँगै कारागारमै निर्णायक वार्ता गर्नुपर्ने प्रस्ताव रविले पठाए।

‘मसँग वार्ता गर्न तपाईं आफैँ कारागार आउनुपर्‍यो। किन आउनुहुन्न?’ उनले कुलमानलाई सन्देश पठाएका थिए।

कुलमान अहिले मन्त्री छन् र उनी प्रधानमन्त्री सुशीला कार्कीलाई पनि प्रभाव पार्न सक्ने मन्त्री हुन् भन्ने रविलाई थाहा नहुने कुरा भएन। तसर्थ शक्तिशाली मन्त्री कुलमान नख्खु जेलमै रविलाई भेट्न जानुको ठूलो अर्थ हुन्छ, जसबाट आफुलाई छुटाउन सरकार सकारात्मक छ भन्ने सन्देश जाओस् भन्ने रवि चाहन्छन्। साथै उनी कुलमानसँग प्रत्यक्ष भेटेर आफ्नो मुद्दा राफसाफ गर्न उनी मार्फत् प्रधानमन्त्री समक्ष सन्देश पठाउन पाइयोस् भन्ने पनि चाहन्छन्। 

तर कुलमान आफुलाई भेट्न कारगार नआउँदा उनी आफ्नो मुद्दा प्रतिशोधपूर्ण हो र आफु जेलमुक्त हुनुपर्छ भन्ने नै कुलमान चाहँदैनन् भन्ने रविको बुझाई बनेको देखिन्छ। कुलमानसँग विश्वासको वातावरण नै नबनेको यो अवस्थाा एउटै पार्टी बनाउन कसरी सम्भव हुन्छ भन्ने रविको प्रश्न रहेको देखिन्छ।  

४. आफुलाई थुनामुक्त गर्न कुलमान र सरकारबाट पहल होस्
सरकारमा भएर पनि आफूलाई रिहाइ गर्न कुलमानले कुनै पहल नगरेकोमा रविको चित्त दुखाइ छ। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा घिसिङले शक्तिशाली तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका छन्।

सरकारमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिले आफूलाई थुनामुक्त गर्ने विषयमा कुनै पहल नगरेको भन्दै कुलमानप्रति रविको गुनासो छ।

‘कुलमानजीहरूले सरकारमा बसेर मलाई बाहिर निकाल्न कामै नगर्ने, म भित्र बसेको मानिससँग केको नेगोसिएसन गर्नुहुन्छ भन्ने कुरा छ उहाँको,’ रास्वपाका नेता शिशिर खनालले भने, ‘मिलेर जानुपर्छ भन्ने कुरामा प्रस्ट छु। तर, म बाहिर भएर संवादहरू गर्न पाए सजिलो हुन्थ्यो।’ 

जेनजीभन्दा पहिले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लडेको रविले बताउँदै आएका थिए।

तर, जेनजीकै माग अनुसार बनेको सरकारले थुनामुक्त नगरेको भन्दै रवि असन्तुष्ट बनेका हुन्। तर सरकारले चाहँदैमा विभिन्न अदालतमा रहेका मुद्दाबाट उनले उन्मुक्ति पाउने अवस्था पनि छैन।

५. कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार मान्न तयार
कुलमानलाई सभापति नदिने हो भने भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानुपर्ने प्रस्तावमा भने रविले सहमति जनाएका छन्। 

रविको विश्वासपात्र एक नेताले कुलमानसँगको भेटमै सो प्रस्ताव स्वीकार गरेका हुन्। 

रास्वपाका नेतासँग निरन्तर संवादमा रहेका कुलमानका विश्वासपात्र गणेश घिसिङले रास्वपासँगको एकताका लागि मिलनविन्दुको खोजी भइरहेको बताए। 

‘कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जान उहाँहरू सहमत हुनुहुन्छ,’ घिसिङले भने, ‘जनताले नयाँहरू एक हुनुपर्छ भन्ने चाहेका छन्, राष्ट्रको आवश्यकता पनि हो। हामी जति पनि लचक हुन र जुनसुकै स्थितिमा पनि मिल्न तयार रहेको भनिसकेका छौँ।’

रास्वपाका नेता शिशिर खनाल पनि निर्वाचन आयोगले दिएको समय सीमाभित्र मिलाउने अधिकतम प्रयास भइरहेको बताउँछन्।

‘कुलमान र स्वर्णिमजीबीच निरन्तर कुरा भइरहेको छ,’ उनले भने, ‘खासै अप्ठेराहरू छैनन्, राइट्स र रोलमा कसरी म्यानेज गर्ने भन्ने मात्र हो।’

उनेपाका नेता गणेश घिसिङ रास्वपाले निर्णय नदिएकै कारण सबै कुरा रोकिएको बताउँछन्।

‘हामी धेरै लचक हुन तयार छौँ, तपाईंहरू कति लचक हुने भनेर सोधेका छौँ,’ उनले भने।  

तर, रास्वपा सभापति रवि लामिछानेले उनेपासँग मिल्ने सम्भावना कमजोर बनेको सन्देश दिएका छन्। 

‘एउटै पार्टी बनाउन सकिएन भने चुनावमा गठबन्धन गरौँला तर रास्वपा फुटाउने प्रयास नगर्नू भनेर उहाँले कुलमानजी लगायतलाई सन्देश पठाउनु भएको छ,’ रास्वपाका एक पदाधिकारीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad