नेकपा नेता देव गुरुङले मुलुकलाई थप अस्थिरतादेखि जोगाउन आवश्यक महामार्ग राष्ट्रिय सहमति र संवैधानिक मार्ग नै भएको बताएका छन्।
शनिबार काठमाडौँमा जेनजी आन्दोलनसम्बन्धी आयोजित छलफल कार्यक्रममा बोल्दै उनले निर्वाचन सम्पन्न हुन नसकेको अवस्थामा संसद पुनर्स्थापना मूल विकल्प हुने स्पष्ट गरे।
‘अहिलेको संक्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिको विकल्प छैन,’ गुरुङले भने, ‘निर्वाचन सम्पन्न गर्ने सम्भावना छ, तर यदि गर्न सकिँदैन भने संसद् पुनर्स्थापना गर्नुको विकल्प छैन।’
संसद् पुनर्स्थापनापछि आवश्यक परे संविधान संशोधनमार्फत आगामी राजनीतिक कदम तय गर्न सकिने बताउँदै उनले राजनीतिक प्रक्रियालाई पुनः नियमित कोर्समा फर्काउनुपर्नेमा जोड दिए।
उनले थपे, ‘राष्ट्रिय सहमति हुन सकेन, तर अबको निकास यही हो-संविधानअनुसार अघि बढ्ने, आवश्यक परे संशोधन गर्ने। अहिले कोही-कोही उत्तेजना मच्चाउने दिशामा छन्, तर हामी शान्तिको मार्गमा छौँ।’
गुरुङले योगदानभन्दा बढी एक-अर्कोलाई गालीगलौज गरेर सिध्याउने प्रवृत्ति हाबी हुँदै गएको आरोप लगाउँदै स्वस्थ राजनीतिक संस्कृतिको आवश्यकता औंल्याए।
Shares

प्रतिक्रिया