राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन्।
शुक्रवार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै उनले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले सफल बनाउन आह्वान गरेका हुन्।
राष्ट्रपति पौडेलले देश विषम परिस्थितिलाई गुज्रिरहेको उल्लेख गर्दै त्यसबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउनका लागि नै निर्वाचनको मिति घोषणा गरिएको बताए।
सो निर्वाचन परिणामले मुलुकको सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै मुलुकलाई नयाँ दिशा दिने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे।
‘यो निर्वाचन परिणमले सुशासन, विकास र समद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ,’ राष्ट्रपति पौडेलले भने, ‘यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीलाई अपिल पनि गर्दछु।’
कार्यक्रममा राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार व्यवहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता समेत औंल्याए।
उनले पद्मकन्या क्याम्पसलाई महिला विश्वविद्यालय बनाउन गरिएको प्रयासप्रति पनि खुशी व्यक्त गरे।
Shares

प्रतिक्रिया