राजनीति


सिमरा घटनाप्रति प्रचण्डको प्रतिक्रिया- हिंसा होइन, संयमता आवश्यक

सिमरा घटनाप्रति प्रचण्डको प्रतिक्रिया- हिंसा होइन, संयमता आवश्यक

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १६:३, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरा क्षेत्रमा हिजोदेखि भइरहेको तनाव र हिंसात्मक घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेका अभिव्यक्तिमा सबै पक्षलाई शान्त र संयमित रहन आग्रह गरेका छन्। ‘बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले लेखेका छन्, ‘स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु।’

उनका अनुसार लोकतन्त्रमा मतभिन्नता प्राकृतिक भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा बदल्नु लोकतान्त्रिक संस्कृतिविरुद्धको कदम हो। ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन,’ प्रचण्डले भनेका छन्। 

उनले सरकारलाई राजनीतिक गतिविधि सहज बनाउन पनि आग्रह गरेका छन्। प्रचण्डले भनेका छन्, ‘राजनीतिक तथा वाक-स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा-सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु।’

यसले आगामी चुनावमा नकरात्मक असर नपारोस् भन्नेमा पनि सचेत गराएका छन्। ‘घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन्। 

बाराको स्थानीय पार्टी समितिहरूलाई पनि परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न उनले निर्देशन दिएका छन्। 

नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरू कार्यक्रमका लागि बारा जाने भएपछि जेनजीहरूले बुधबार प्रदर्शन थालेका थिए। पोखरेललाई स्वागत गर्न विमानस्थल पुगेका एमाले कार्यकर्ताहरूले उक्त विरोध प्रदर्शनमा उत्रिएका जेनजी युवामाथि हातपात गरेपछि विवाद उत्कर्षमा पुगेको छ। 

हिंसा भड्किँदै गएपछि हिजोदेखि नै त्यहाँ कर्फ्यु लगाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad