बारामा नेकपा एमालेको राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन् महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितका नेता आउने थाहा पाएपछि बाराको सिमरा विमानस्थल परिसरमै प्रदर्शन भएको छ। प्रदर्शन भएपछि पोखरेल र बस्नेतसहितका नेताहरू काठमाडौँमै रोकिए सिमरा जान पाएनन्।
त्यहाँ एमाले र प्रदर्शनकारीबीच झडप पनि भएको थियो। एमालेका नेताहरू आउने थाहा पाएपछि केही युवाहरूले एमाले र एमालेका नेताविरुद्ध नाराबाजी गरेपछि झडपको अवस्था सिर्जना भएको एमाले जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेयले जानकारी दिए।
उनले एमालेको कार्यक्रम भाँड्न खोज्ने र नेताहरूमाथि गालीगलौज गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाए।
'हाम्रो कार्यक्रम भाँड्न माओवादीले जेनजीलाई प्रयोग गरे। उमेरले जेनजी भए पनि आज यहाँ प्रदर्शन गर्ने र गालीगलौजसहित नारा लगाउनेहरू माओवादीका कार्यकर्ता हुन्,' पाण्डेयले नेपालखबरसँग भने।
झडपपछि बारा जिल्ला प्रशासनले आज मध्याह्न १२ः३० देखि बेलुका ८ बजे सम्मलाई कर्फ्यु जारी गरेको छ। प्रदर्शनका कारण विमानस्थ बन्द गरिएको छ। विमानस्थल बन्द भएपछि नेताहरू जान पाएनन्।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशअनुसार आज दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म कुनै पनि व्यक्ति तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला वा जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन्।
झडप भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो।
यता जेनजीले भने शान्तिपूर्ण प्रदर्शनमा एमालेका स्थानीय नेताहरूले हातपात गरेको बताएका छन्। जितपुर सिमरा उपमहानगरपालिका-२ अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नम्बर ६ का कैमदिन अन्सार, वडा नम्बर ७ सुनिल गुप्तासहितका एमाले कार्यकर्ताहरूले हातपात गरेको उनीहरूको भनाइ छ।
'हामी शान्तिपूर्ण प्रदर्शन गर्दै थियौँ। नेताहरू आउँदै थे हामीलाई हातपात गरेका हुन्,' त्यस क्षेत्रमा जेनजीको विभिन्न कार्यक्रममा सक्रिय भएका सम्राट उपाध्यायले नेपालखबरसँग भने।
आफूलाई सुदन गुरुङ समूहबाट बारा जिल्ला अध्यक्ष बताउने उनले थपे, 'अब हामीलाई पिट्नेहरूलाई कारबाही हुनुपर्यो। यहाँका एसपी, डीएसपीको सरुवा हुनुपर्यो। आतंक मच्चाउने महेश बस्नेतलाई पक्राउ गर्नुपर्यो।'
जेनजीले अहिले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। 'अहिले टायर बालेर प्रदर्शन गरिरहेका छौँ। हामीले विमास्थलको गेट तोडेको हो भित्र केही पनि बिगारेको छैनौँ' उनले भने।
प्रदर्शन भएपछि बारा प्रशासनले कर्फ्यु जारी गरेको छ। एमालेले पनि नजिकै कार्यक्रम गरिरहेको छ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य (निवर्तमान माओवादी) तथा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रदर्शनमा माओवादीका कार्यकर्ता सहभागी नभएको बताए।
'माओवादीका छैनन्। पछि प्रतिकार गर्ने बेलामा त मान्छेहरू सबै गए होलान् सुरुमा सिमरा चोकमा भएको प्रदर्शनमा चाहिँ जेनजीहरू मात्रै सहभागी थिए,' उनले नेपालखबरसँग भने, 'उनीहरू हाम्रो पार्टीका कुनै पनि संगठनमा छैनन्।'
Shares

प्रतिक्रिया