मधेशका सभामुख रामचन्द्र मण्डलविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन आज उपसभामुख बबिता कुमारी राउत इशरले प्रदेश सभाको बैठक आह्वान गरेकी छन्।
‘पदअनुकूल आचरण नगरेको’ भन्दै एमाले बाहेकका दलले गएको कात्तिक २७ गते सभामुख मण्डलविरुद्ध प्रदेशसभा सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।
उक्त प्रस्ताव अगाडि बढाउन उपसभामुख राउतले बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेकी हुन्।
प्रदेशसभाको बैठकअघि बिहान साढे १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने राउतले जानकारी दिइन्।
‘आजको बैठकमा सभामुख मण्डलविरुद्ध दर्ता भएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्तावमाथि छलफल हुनेछ,’ राउतले नेपालखबरसँग भनिन्, ‘बैठकको लागि मैले सबै सांसदसहित सभामुख रामचन्द्र मण्डललाई पनि खबर गरेको छु। सभामुख र माननीयले आफ्नो कुरा राख्नु हुनेछ। सभामुखले पनि मत दिन र छलफलमा भाग लिन पाउनु हुन्छ। ’
हाल काठमाडौँमा रहेका सभामुख मण्डलले भने आजको बैठकमा आफू नजाने बताए।
‘उपसभामुखलाई प्रदेशसभाको बैठक बोलाउने अधिकार छैन। मविरुद्ध दर्ता भएको भनिएको महाअभियोग पनि विधि सम्मत छैन,’ सभामुख मण्डलले नेपालखबरसँग भने, ‘सबै कुरा विधि र प्रक्रियाअनुसार हुनुपर्छ। अहिले उपसभामुखबाट भएका क्रियाकलाप त्यसअनुसार छैनन्।’
मण्डल एमालेबाट चुनाव जितेर सभामुख बनेका हुन् भने राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन्।
माओवादी सांसद जवाहर कुशवाहाले प्रदेश सभा भवनमा बस्न नपाए आज सडकमै बैठक बसेर भए पनि सभामुखलाई दुई तिहाइ बहुमतले पदबाट हटाउने निर्णय गर्ने बताए। ‘हामीसँग दुई तिहाइको लागि आवश्यक बहुमत पुग्छ। करिब ७५ जना सांसद हामीसँग छन्,’ उनले भने।
मधेस प्रदेशमा ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते बिहान बर्दिबासको एक होटलमा एमाले नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएपछि मधेसमा बिवाद बढ्दै गएको छ।
मुख्यमन्त्री नियुक्ति प्रकरणमा सरकारले यसअघिकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेर सुरेन्द्र लाभ कर्णलाई मधेसको प्रदेश प्रमुख बनाएको छ।
मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद चर्किँदै जाँदा एमाले बाहेकका सात एक ठाउँमा उभिएका छन्।
सर्वोच्च अदालतले मंगलबार हालका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न आदेश दिएको छ।
Shares

प्रतिक्रिया