प्रधानमन्त्री सुशीला कार्कीले आज (बुधबार) निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूलाई सिंहदरबार बोलाएकी छन्।
आयोगको तथ्याकअनुसार हालसम्म १२५ वटा राजनीतिक दल दर्ता भएका छन् भने १८ दर्ता प्रक्रियामा छन्।
ती दर्ता भइसकेका १२५ पार्टीलाई प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउन भनेकी हुन्।
‘सरकारका काम, कारबाही र प्राथमिकताका विषयमा जानकारी दिन प्रधानमन्त्रीज्यूले ती दललाई आज अपराह्न ४ बजेका लागि सिंहदरबार बोलाउनुभएको हो’, प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले नेपालखबरसँग भने।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ भने कार्की नेतृत्वको सरकारको प्रमुख जिम्मेवारी यही चुनाव सम्पन्न गराउनु हो।
आज दलहरूसँगको कार्यक्रम पनि निर्वाचनमै केन्द्रित हुने प्रेस संयोजक रावलले बताए।
निर्वाचन आयोगमा दर्ता भएका दलहरूले चुनावका लागि भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ। यसका लागि आयोगले मंसिर १० गतेसम्मको समय दिएको छ।
Shares

प्रतिक्रिया