सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई ‘पत्रकार सहिद’ घोषणा गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा दिवंगत पत्रकार रजककी श्रीमती सूजन मगियालाई रोजगारी प्रदान गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
मन्त्री खरेलका अनुसार पत्रकार रजकको योगदान र परिस्थितिलाई सम्मान जनाउँदै सहिद घोषणा आवश्यक रहेको भन्दै त्यसका लागि मन्त्रालयबाट प्रक्रिया अघि बढाइनेछ। सूजन मगियालाई सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षा मुद्रण केन्द्रमा नियुक्त गरिएको छ।
उनीलाई रोजगारसँगै शिक्षा अघि बढाउने चाहना भए सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि मन्त्री खरेलले व्यक्त गरे। उनले भने, ‘यदि सूजन बहिनीले पढ्न चाहनुभयो भने कुनै पनि विषयमा छात्रवृत्ति, छुट वा सहज वातावरण मिलाउन सरकार र मेरो व्यक्तिगत तर्फबाट सहयोग हुनेछ।’
पत्रकार सुरेश रजक २०८१ चैत १५ गते तीनकुनेमा भएको आन्दोलनको भिडियो खिच्ने क्रममा ज्यान गुमाएका थिए।
मन्त्री खरेलले पत्रकार रजकको शालिक निर्माण सम्बन्धी प्रक्रिया अध्ययन गरिरहेको र सरकार यसबारे चाँडै निर्णयमा पुग्ने बताए। घटनाका अन्य पक्षहरूको पनि समग्र अध्ययन आवश्यक रहेको उल्लेख गर्दै उनले छानबिन निष्पक्ष र व्यापक हुनुपर्नेमा जोड दिए।
दिवंगत पत्रकार सुरेश रजकका आफन्त पुरुसोत्तम मगियाले कार्यस्थलमै निधन भएका सुरेशको न्यायका लागि घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन, सहिद घोषणा गर्न र तीनकुनेमा रजकको सालिक निर्माणका लागि पहल गर्न आग्रह गरे।
पत्रकार सुरेश रजकलाई सहिद घोषणा, तीनकुनेमा रजकको सालिक निर्माण, परिवारलाई रोजगारीको अवसर र घटनाको दोषीमाथि कारवाहीलगायतका माग रजकका परिवारले गर्दै आएको छ।
विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनकोक्रममा दृश्य कैद गर्दागर्दै तीनकुनेको आगजनीमा जलेर पित्रकार सुरेश रजकको निधन भएको थियो।
Shares

प्रतिक्रिया