जवाफदेहिता निगरानी समितिका अध्यक्ष राजुप्रसाद चापागाइँले प्रधानमन्त्री सुशीला कार्कीमा शासकीय दम्भ र बढप्पन नभएको भन्दै प्रशंसा गरेका छन्।
हिजो प्रधानमन्त्री कार्कीले नागरिक सभाजका अगुवाहरुसँग भेटवार्ता गरेकी थिइन्। प्रधानमन्त्रीसँगको छलफलमा सहभागी चापागाइँले आज सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीको प्रशंसा गर्दै लेखेका छन्, ‘न कुनै शासकीय दम्भ, न कुनै बढप्पन। प्रधानमन्त्रीको प्रस्तुतीमा नागरिकपन नै झल्किन्थ्यो।’
प्रधानमन्त्रीले सहभागी प्रत्येकलाई धारणा राख्न पाँच मिनेटको समय दिएको र हडबड नगरी सबैको धारणा एक–एक गरी सुनेको चापागाइँको भनाई छ।
‘महत्वपूर्ण कुरा के थियो भने, उहाँले सरकारका बारेमा आलोचनात्मक दृष्टिकोण राख्न आव्हान गर्नुभयो। चिप्ला कुरा भन्दा खस्रा कुराले सरकारलाई सच्याउन सहयोग पुग्नेमा उहाँको जोड थियो। न कुनै शासकीय दम्भ, न कुनै बढप्पन-प्रधानमन्त्रीको प्रस्तुतीमा नागरिकपन नै झल्किन्थ्यो।’
पछिल्लो समयमा निर्वाचनलाई केन्द्रित गरेर जाँदा ‘निर्वाचन हुन्छ, गर्न सकिन्छ’ भन्ने आत्मविश्वास आफूले प्रधानमन्त्रीमा पाएको उनको भनाई छ।
‘सुशासनका लागि काम गर्न धेरै अवरोध रहेको र सोचेजस्तो काम गर्न नसकिएको तथ्यलाई प्रधानमन्त्रीले स्वीकार्नुभयो,’ उनले अगाडि लेखेका छन्, ‘हामी सबैको जोड-जसरी पनि चुनावको वातावरण बनाउनुपर्ने, राजनीतिक दलहरूसँग इङ्गेज हुनुपर्ने, सबै तह र तप्काका नागरिकबीच संवाद र परामर्श गर्नुपर्ने, डिजिटल माध्यमबाट भए पनि परामर्शलाई विकेन्द्रित गर्नुपर्ने, सर्वसाधारण नागरिकसँग पनि सरकार जोडिनुपर्ने, सामाजिक न्यायका मुद्धालाई प्राथमिकता दिने, सार्वजनिक सेवा प्रवाहलाई जनममुखी बनाउने, जेनजी आन्दोलनलाई मान्यता दिने तथा उनीहरुका जायज सामूहिक मागलाई सम्बोधन गर्नु पर्ने, निर्वाचनको नाममा सुशासन तथा जवाफदेहीताको सवालमा सम्झौता गर्न नहुने, दुवै एजेन्डालाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्ने-लगायतका कुरामा थियो।’
चापागाइँले अतिवादी सोचहरूलाई किनाराकृत गर्ने र मुलुक तथा जनताको समष्टिगत हित प्रवर्द्धन गर्ने, अस्थिरता र अन्योललाई विराम लगाउने प्रयोजनका लागि निर्वाचनबाहेक अहिले कुनै अचूक औषधि नभएकोमा जोड दिएका छन्।
‘निर्वाचनको वातावरण बनाउन इमानदारीसाथ लागिपर्नु सरकारको मात्रै होइन, नागरिक समाज, आम नागरिक, मिडिया लगायत सबैको प्राथमिकता हो,’ चापागाइँले लेखेका छन्, ‘निर्वाचनबारे रचनात्मक संवाद, बहस, छलफल, सचेतना बढाएर, सुरक्षाको यथोचित चाँजोपाँजो मिलाएर मुलुकभर निर्वाचनको आम मनोविज्ञान तयार पार्न अग्रसर हुनै पर्छ।’

Shares

प्रतिक्रिया