राजनीति


काठमाडौं उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्री कार्कीले गरिन् छलफल

काठमाडौं उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्री कार्कीले गरिन् छलफल

नेपालखबर
मंसिर १, २०८२ सोमबार २०:५३, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन्।

प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन्।

उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे। त्यसका लागि सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ थियो।

भेटका क्रममा स्थानीय सरकार प्रमुखहरूले आफूहरूले भोगिरहेका समस्याका विषयमा पनि प्रधानमन्त्रीसमक्ष अवगत गराए। उनीहरूले आ–आफ्ना समस्या राख्दै यो सरकारले बोल्ड डिसिजन गर्न डराउन नहुने धारणा पनि राखे।

फोहोर व्यवस्थापनको समस्याको गाँठो फुकाइदिन र सडक बत्तीको बक्यौता रकमसम्बन्धी विवाद मिलाइदिन पनि उनीहरूले आग्रह गरे।

ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफू निर्वाचित भएर आउनुअघिको समेत बक्यौता रहेको जानकारी दिँदै उक्त रकम राफसाफ गरिदिन अनुरोध गरे। त्यस्तै, सडक बत्तीको महसुल ६० प्रतिशत स्थानीय सरकारले तिर्न सक्ने र ४० प्रतिशत संघीय सरकारले तिर्ने व्यवस्था गर्नुपर्ने उनको माग थियो।

यस्तै जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको सम्बोधन गर्दै स्थानीय तहका कार्यालय सञ्चालनमा सहजीकरण गरिदिन पनि उनीहरूले प्रधानमन्त्रीसमक्ष आग्रह गरे।

गोकर्णेश्वर नगरपालिकाका प्रमुखले नेपाल ट्रस्टको जग्गामा सडक विस्तार गरिदिन आग्रह गरे। टोखा नगरपालिकाका प्रमुखले टोखा-छहरे बाटो चौडा पार्न स्थानीयलाई मुआब्जा दिने निर्णय गरिदिन आग्रह गरे। दलीय सरकारले यस्तो निर्णय गर्न नसक्ने भएकाले गैरदलीय सरकारले यो निर्णय गरेर इतिहास रच्नुपर्ने उनको सुझाव थियो।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले भदौ २४ गते जेनजी आन्दोलनसँग सम्बन्धित नै नभएका व्यक्तिहरूले व्यक्तिका घरघरमा लुटपाट मच्चाएको भन्दै तिनलाई कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरे। नगरपालिकाले नै जाहेरी दिएर केही व्यक्ति पक्राउ गरेको भए पनि प्रहरी र अदालतबाट छुट्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे।

कीर्तिपुरका नगरप्रमुखले त्रिभुवन विश्वविद्यालयको जग्गामा बसपार्क, अस्पताल र प्रशासकीय भवन सञ्चालनका लागि संघीय सरकारले अनुमति दिनुपर्ने माग राखे। 

चाँगुनारायण नगरपालिकाका प्रमुखले सल्लाघारी-कमलविनायक-नगरकोट सडक लामो समयदेखि निर्माणाधीन रहेकाले चाँडो बनाइदिनुपर्ने बताए।

धेरै जनप्रतिनिधिले मितव्ययिता कायम गर्न संघीय सरकारले ३ करोडभन्दा कम बजेटका योजना कटौती गरेको निर्णयका कारण विकास निर्माणका काम गर्न समस्या परेको गुनासो गरे।

प्रधानमन्त्री सुशीला कार्कीले आफू अहिले निर्वाचनमा केन्द्रित रहेको जानकारी दिँदै त्यसमा सहयोग गर्न आग्रह गरिन्।

निर्वाचन गराउन आएको सरकारले अरु काम गर्नुहुँदैन भनेर पनि प्रश्न उठेकोतर्फ संकेत गर्दै उनले थपिन्, ‘एकातिर निर्वाचन मात्र गराऊ, अरु काम नगर भन्ने कुरा पनि उठेको छ। अब त चुनावको आचारसंहिता पनि लाग्ला। तैपनि तपाईँहरूले अघि सार्नुभएका समस्यामा केकति गर्न सकिन्छ, हेरौँला। जेजति समस्या छन्, तिनको समाधान तपाईँ–हामी मिलेर नै गर्नुपर्छ।’

भावी पुस्ताका लागि यो देश बस्नलायक बनाउने जिम्मेवारी हाम्रै रहेको उनको भनाइ थियो।

‘समाज भाँडियो, बिग्रियो भने पनि हामीले बनाउनैपर्छ। भागेर कहाँ जानेरु बरु अन्यत्र जाँदा पनि फर्केर आउने ठाउँ यही हो। कोही आएर बनाइदेला, सपारिदेला र हामी सुध्रिउँला भनेर हुँदैन। जे-जस्ता राम्रा-नराम्रा काम भए, ती हामीहरूमध्येबाटै भए। अब यिनको समाधान पनि हामीले नै खोज्नुपर्छ,’ उनले भने, ‘यो अवस्था किन आयो भनेर पनि हामीले मनन गर्नैपर्छ। विगत ३०-३५ वर्षदेखि एकैथरीले एकलौटी शासन गरेको कुराले पनि युवामा वितृष्णा भएको देखिन्छ। अब युवालाई अघि बढ्न दिनुपर्छ। उहाँहरूको सोचअनुसार हाम्रो दिमाग चल्न सक्दैन। प्रविधिसँगै हुर्केको पुस्ता हामीसँग असन्तुष्ट छ भनेर बुझ्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad