नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २८ गतेदेखि जारी छ। भदौ २४ गते जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको बैठकले महाधिवेशन कहिले गर्ने भन्ने निष्कर्ष अझै निकाल्न सकेको छैन।
यही बीचमा देउवा सिंगापुर पुगेर थप उपचार गरेर पनि फर्किए। उनी बैठक सुरु भएको ठिक एक महिनापछि (कात्तिक २८) स्वदेश फर्किएका हुन्। श्रीमती आरजु राणालाई लिएर सिंगापुर जाँदा देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
अहिले कांग्रेसभित्रको विवादको चुरो हो- १५औं महाधिवेशन फागुन २१ गतेको आम निर्वाचनअघि गर्ने कि पछि?
सभापति देउवासहित संस्थापन समूहका नेताहरू चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, डा शेखर कोइरालासहितका नेताहरू नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्ने पक्षमा छन्। एक महिनादेखि जारी बैठक यही बहसमा अल्झिरहेको छ।
सिंगापुरमा उपचार गराएर शुक्रबार राति फर्किएका देउवा अहिले पुन: नेता भेटघाटमा सक्रिय भएका छन्। शनिबार देउवाले आफ्नो समूहका पदाधिकारी तथा पूर्वपदाधिकारीलाई भेटे। भेटमा पूर्णबहादुर खड्कादेखि प्रवक्ता डा प्रकाशशरण महतसम्म थिए।
भेटमा देउवाले नेताहरूलाई समझदारीमै महाधिवेशनको मिति तोक्न निर्देशन दिएका छन्।
‘विशेष महाधिवेशन त गर्नै हुँदैन। नियमित महाधिवेशनमै केन्द्रित हुनुपर्छ,’ नेताहरूलाई देउवाले निर्देशन दिँदै भने, ‘पूर्णजी (कार्यवाहक सभापति)ले साझा प्रस्ताव लिएर जानुस्। यस्तो संक्रमणकालीन समयमा महाधिवेशनकै बारेमा अल्पमत, बहुमत भनेर विवाद गर्न हुँदैन।’
यस्तो छ देउवाको महाधिवेशन तालिका प्रस्ताव
देउवासँगको भेटमा खड्काले केन्द्रीय समितिको बैठकको ब्रिफिङ गर्दै नयाँ कार्यतालिकाको सुझाव मागेका थिए।
‘महाधिवेशन र निर्वाचन एकै तालिकाभित्र हुँदा पार्टीलाई ठूलो असर गर्छ। क्रियाशील सदस्यताको नवीकरणको मिति, नयाँ क्रियाशील सदस्य वितरणको मिति, क्रियाशील सदस्यको अन्तिम नामावली प्रकाशन गर्ने मिति, छानबिन गर्ने मिति, वडा अधिवेशन, पालिका अधिवेशन गर्दै जाँदा हामीसँग स्वत: समय पुग्दैन,’ देउवालाई उद्धृत गर्दै महतले भने, ‘फागुन २१ को चुनाव त्यतिबेला सर्यो भने हाम्रो तालिकाअनुसार महाधिवेशनको काम अघि बढाउने। चुनाव हुने अवस्था भयो भने महाधिवेशनको तालिका स्थगित गरेर निर्वाचन केन्द्रित हुने।’
देउवाले राखेको प्रस्ताव नै साझा प्रस्ताव भएको र सहमतिको बिन्दु भएको महतले बताए। नियमित महाधिवेशनमै जोड दिएर असोज २८ गते बैठकको उद्घाटन गरेका देउवाले शनिबार आफूनिकट नेताहरूसँगको छलफलमा पनि त्यसैमा जोड दिए।
‘मंसिरभित्र सदस्यता नवीकरण सकेर पुसको दोस्रो हप्तादेखि महाधिवेशनको प्रारम्भिक तालिकाअनुसार अधिवेशन सुरु गर्न सकिन्छ,’ देउवाको भनाइ थियो।
देउवाले गरेकोजस्तै प्रस्ताव उनको समूहका नेताले केन्द्रीय समितिमा पनि गरेका थिए। देउवाले निर्वाचन केन्द्रित हुनुपर्ने समय आइसकेको शनिबारको छलफलमा बताए।
‘पार्टी निर्वाचनबाट भाग्न मिल्दैन। निर्वाचन केन्द्रित हुनुस्। महाधिवेशनकोको मितिमा विवाद नगरौँ,’ देउवाले नेताहरूसँग भने।
प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले केन्द्रीय समिति बैठकमा केही नेताहरूले चुनाव हुने अवस्था भए महाधिवेशन रोक्नुपर्ने विषयमा असहमति जनाएको सुनाए।
‘बीचैमा स्थगित गरेर जानेभन्दा पनि टुंग्याएर जाऊँ भन्ने प्रस्ताव पनि आएकै छ। त्यस्तै विशेष महाधिवेशनको प्रस्ताव पनि आएको छ,’ उनले भने, ‘महाधिवेशन कुनै पनि बहानामा रोक्न मिल्दैन। विशेषकै तालिकानजिक नियमित महाधिवेशनको कार्यतालिका आउँछ।’
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर असोज २९ गते हस्ताक्षरसहितको पत्र कार्यवाहक सभापति खड्कालाई बुझाइसकेका छन्। कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाई विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था छ। विशेष अधिवेशन माग गर्नेहरू महामन्त्रीद्वय र नेता शेखर कोइराला समूहका नेता छन् भने केही संस्थापन समूहका नेता पनि छन्।
कांग्रेसका १४ औं महाधिवेशनका ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ४८८ जनाले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका हुन्।
अब के गर्छन् त गगन-शेखर?
शनिबार देउवालाई भेट्न गएका उनीनिकटका नेताहरूले महाधिवेशनको विषयलाई केन्द्रीय समितिमा भोटिङमार्फत नै टुंग्याउनुपर्ने अवस्था आएको ब्रिफिङ गरेका थिए। त्यसपछि शेखर कोइराला त्यसविरुद्ध रणनीति बनाउन सक्रिय भएका छन्। आइतबार बिहान शेखरले आफ्नो सचिवालयमा इतर समूहका युवा, महिला नेताहरूसँग छलफल गरेका छन्। शेखरको सचिवालयको छलफलमा महामन्त्री गगन थापानिकटका केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, कुसुम थापालगायत सहभागी थिए।
‘महाधिवेशन तालिका घरी सुरु गर्ने घरी स्थगित गर्ने भन्ने हुँदैन। पूरै तालिका ल्याइसकेपछि त्यसलाई सम्पन्न गर्नतिर लाग्नुपर्छ,’ छलफलमा शेखरले भने, ‘महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने अनि आम निर्वाचनमा जाने नै पार्टीको लाइन हुनुपर्छ र यसै गर्नुपर्छ। बरु माघको पहिलो हप्तासम्म पुगोस् महाधिवेशन त चुनावअघि गर्नै पर्छ।‘
महामन्त्री थापाले पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव कात्तिक १८ गतेको बैठकमा राखेका हुन्। संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गरेका छन्।
महामन्त्री थापानिकट नेतृ गौतमले विशेष महाधिवेशनको कोर्स अगाडि बढाएर नेतृत्व चयनका लागि ढिलाइ गर्न नहुने बताइन्।
‘विशेष महाधिवेशनको कोर्स अगाडि बढाउनुपर्ने भइसक्यो। महामन्त्रीले पेस गरेकै मितिमा नियमित महाधिवेशन गर्ने हो भने पनि अझै समय छ, गरौँ। सकिँदैन भने विशेषको विकल्प छैन,’ उनले भनिन्।
कात्तिक २७ गतेको केन्द्रीय समिति बैठकमा थापाले महाधिवेशन मिति मंसिरमा २७-२८ मा गर्ने प्रस्ताव गरे। नेताहरू नै नियमित महाधिवेशनका लागि तयार नभएपछि विशेषको प्रस्ताव गरेको उनको भनाइ थियो।
‘सभापतिले छोडिसक्नुभयो, अब हामीले सम्हाल्ने हो। सभापतिले छाडेको ठाउँमा विशेष महाधिवेशनबाट सभापति ल्याएर सम्हाल्ने हो। नियमित महाधिवेशन गरौँ भनेको कोही मान्नुभएन, त्यसो भए विशेष महाधिवेशन गरेर त्यसबाट सभापति ल्याउनुपर्यो। त्यसले संक्रमणकाल चलाउँछ अनि नियमित महाधिवेशन गराउँछ,’ महामन्त्री थापाले भनेका थिए।
Shares

प्रतिक्रिया