नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर फागुन २१ को चुनावअघि महाधिवेशन गर्नै पर्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन्। केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी बलियो बनाउन नेताहरू एक ढिक्का भएर अघि बढ्नुपर्ने बताएका हुन्।
‘मैले बुझेको कांग्रेसमा के छ भने आन्तरिक चुनावले पार्टी खत्तम भयो। त्यसैले हामी एकढिक्का भएर जानुपर्ने भएकाले निर्वाचनपछि अधिवेशनमा जाऔँ,’ उनले भने, 'होइन, गर्नै पर्ने हो भने विशेष अधिवेशनमा जाऔँ। फेस गरौँ विशेष अधिवेशन। हामी फेस गर्न तयार छौँ।’
सहमहामन्त्री राठौरले १४ औं महाधिवेशनमा पराजित भएकाहरूले विशेष महाधिवेशन चाहेको टिप्पणीसमेत गरे।
‘म विशेष महाधिवेशनको पक्षमा छु। हेप्ने हामीलाई? अपराधी जस्तो,’ उनले भने, ‘बाहिर हरूवाहरूले त चाहेका छन्,' उनले भने, 'केन्द्रीय समितिमा भएकाहरूलाई पनि विशेष अधिवेशन चाहिएको छ। ठीक छ, चाहिएको छ भने विशेष अधिवेशनमा जाऔँ।’
नेपाली कांग्रेसभित्र महाधिवेशन चुनावअघि कि पछि भन्ने विवाद चर्किँदो छ।
Shares

प्रतिक्रिया