राजनीति


एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार २२:१, काठमाडौँ

एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ। थाइल्यान्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गरे।
 
यसअघि भारतका तर्फबाट त्यहाँको आपदा प्रबन्धन प्राधिकरणका प्रमुख सिंह सो संस्थाको अध्यक्ष थिए। बैठकमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स र श्रीलङ्काका सदस्यहरु सहभागी थिए।
 
सन् २०२५–२०२६ का लागि एडिपिसिको अध्यक्षको जिम्मेवारी ग्रहणपछि कार्यकारी प्रमुख भट्टले अध्यक्षका रुपमा आफूले एडिपिसीको शासकीय प्रबन्ध, नेतृत्व र संस्थागत विकासको सवलीकरणमा बोर्ड सदस्यको थप क्रियाशीलताको अपेक्षा गरेको बताएको प्राधिकरणले जनाएको छ।
 
उनले एडिपिसिका सदस्य राष्ट्रहरु, कार्यक्षेत्र रहेका राष्ट्रहरुका साथसाथै क्षेत्रीय तथा अन्तरराष्ट्रिय परिदृश्यमा दिगो विकास लक्ष्यहरु हासिल गर्न विपद् तथा जलवायु जोखिम न्यूनीकरणलाई अगाडि बढाउन एडिपिसिको विशिष्ट स्थान रहेको बताए।
 

जिम्मेवारी ग्रहणलगत्तै एडिपिसी बोर्ड अफ ट्रष्टीको छैटौँ बैठक अध्यक्ष भट्टको अध्यक्षतामा बसेको थियो। एडिपिसिले एसिया र प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनको लागि क्षमता अभिबृद्धिलगायत क्षेत्रीय कार्यक्रमको नेतृत्व गर्दछ। यी पहलहरु दीर्घकालीन उत्थानशीलता निर्माण गर्न नीतिगत समर्थन र बहुसरोकारवाला सहकार्यमा केन्द्रित रहेका छन्।
 
एडिपिसी एक स्वायत्त अन्तरराष्ट्रिय संस्था हो। यसको मुख्यालय थाइल्याण्डको बैंककमा रहेको छ। यस अवधिमा सेन्टरको सह–अध्यक्षता पाकिस्तानले गर्नेछ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad