राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई हटाएका छन्।
राष्ट्रपति पौडेलले मंगलबार भण्डारीलाई प्रदेश प्रमुखको पदबाट हटाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्। प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिशमा भण्डारीलाई हटाइएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिशमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गर्नुभएको छ।’
भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान नै नगरी यादवलाई महोत्तरीको बर्दिवासको पानस होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।
त्यसको विरोधमा सात दलले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गरेका थिए। विरोधमा उत्रिएका सांसद तथा कार्यकर्ताले तोडफोड पनि गरेका थिए।
त्यसपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त तथा पदमुक्त गर्ने संवैधानिक व्यवस्था छ।

Shares

प्रतिक्रिया