नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरुको गल्ती भएको बताएका छन्।
सोमबार पार्टीले काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले केही व्यक्तिले संसद्मै बंगलादेशजस्तो बनाइदिने धम्की दिए पनि पार्टीले स्थानीय स्तरमा सुरक्षा समिति नबनाउनु गल्ती भएको स्वीकार गरे।
एमालेलाई महासागरजस्तो संगठन भएको दाबी गर्दै एमालेलाई घरघरका युवाले साथ दिएको जिकिर पनि गरे।
कोही कोहीले त संसदमै बंगलादेश जस्तो बनाइदिन्छौं भनेकै थिए। तर हामीले टोल टोलमा सुरक्षा समिति गठन गरेनौं त्यो हाम्रो गल्ती भयो। नेकपा एमाले भनेको एउटा तिलतले खोल्सी होइन यो एउटा महासागर जस्तो संगठन हो। जसमा युवापंक्तिको सबैभन्दा ठुलो सहभागिता छ । कोही कोहीले युवा छैन एमालेसँग भन्छन्, अनि को सँग छ युवा? फेसबुको युवा होइन घरघरको युवा नेकपा एमालेसँग छ। फेसबुकमा त एमालेसँग केही पनि छैन। नेकपा (एमाले)का सबै युवाहरु, सबै नेताहरु सही विचार र संकल्प भएको संगठन हो। देश र जनहितमा काम गर्ने संगठन हो भनेर आफूहरुलाई चिन्नुपर्छ।
Shares

प्रतिक्रिया