नेपाली कांग्रेसका लुम्बिनी सभापति अमरबहादुर पुनले ३५ वर्षसम्म शासन हातमा लिएकाहरूले कांग्रेसलाई बन्धक बनाएको आरोप लगाएका छन्। पार्टीको विशेष महाधिवेशन पक्षत्ररको भेलामा ऐक्यवद्धता जनाउन पुगेका पुनले अहिलेको आवश्यकता विशेष महाधिवेशन भएको बताउँदै यस्तो आरोप लगाएका हुन्।
'३५ वर्ष शासन गरेर यताबाट पनि उता बाट पनि आफैँले भाग लिएकाहरूले अझै महाधिवेशन नगरी लम्ब्याउन खोजिरहेका छन्। अझै आफैँले भनेका मान्छेलाई दिन भनेर हो कि? नत्र विशेष अधिवेशन अहिलेको आवश्यकता हो,' उनले भने।
अहिले विशेष महाधिवेशनमा गएर खराबीलाई सच्याएर अघि बढ्ने मौका आएको उनको भनाइ छ।
विशेष महाधिवेशन सम्पन्न गरेर फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा भूगोलअनुसार, जातजातिको तथा समानुपातिकतर्फ प्रतिनिधित्व हुने गरी कांग्रेस सहभागी हुनुपर्ने पुनको भनइ छ।
'विशेष महाधिवेशनको महत्व बुझेर कांग्रेस केन्द्रीय समितिले निर्णय गर्ने मेरो विश्वास छ, ' उनले भने, 'विशेषले महाधिवेशन के दिन्छ भनिएको छ। पार्टी फुट्छ भन्न खोजिँदैछ। २०१४ सालमा पनि विशेष महाधिवेशन भएको थियो। त्यो बेलाको निर्वाचनमा दुई तिहाइ मत आएको थियो। अहिले दुई तिहाइ नहोला बहुमत हुन्छ यसैका लागि लागौँ।'
Shares

प्रतिक्रिया