राजनीति


माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १९:३८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ।

शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले एकतामा जाने पक्षमा निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले नेपालखबरलाई जानकारी दिए।

माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावलाई एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका हुन्।

तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता रामकुमारी झाँक्री, घनेन्द्र बस्नेत, बिजय पौडेल, जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशोक घिमिरे, अकिल हुसेन खान, हरि पराजुली लगायतका नेता एकताको विपक्षमा उभिए। 

एकताको विपक्षमा उभिएका लक्ष्मण लम्सालले बहुमत पक्ष एकताकै पक्षमा उभिएको बताए। ‘हिजो ८८ जना केन्द्रीय सदस्य थपेको थियो, त्योसहित ४१९ जनाको केन्द्रीय कमिटी भयो,’ उनले नेपालखबरसँग भने, ‘त्यसमा अहिलेसम्म २ सयले बोले होलान। त्यसमध्ये बहुमतजसो एकताको पक्षमा देखिए।’ 

एकताको पक्षमा खुलेका नेता वामदेव गौतमले एमालेसँग पनि एकता गर्ने लक्ष्यसहित जानुपर्नेमा जोड दिएका थिए।  ‘बुझेर जानुपर्छ, सबै पार्टीहरूसित, यहाँसम्म कि एमालेसँग पनि जानुपर्छ,’ उनले बैठकमा भनेका थिए, ‘अब हामी यहाँबाट अगाडि बढ्छौँ, त्यहाँभित्र विद्रोह हुन्छ।’

तत्कालीन नेकपामा मतभेद हुँदा माधव नेपालसहितका नेताहरू अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा उभिएका थिए। सर्वोच्च अदालतबाट नेकपा एकता भंग भएपछि ब्युँतिएको नेकपा एमालेमा पनि त्यो संघर्ष र विवाद कायमै रहेपछि २०७८ भदौ ९ गते नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी गठन भएको थियो।

नेपाली कांग्रेस, माओवादीसहित गठबन्धन गरेर जाँदा २०७९ को प्रतिनिधि सभा चुनावमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको थियो। तर, समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन नसकेपछि एकीकृत समाजवादी १० सिट हुँदा पनि राष्ट्रिय दल बन्न सकेको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad