प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच छलफल बालुवाटारमा जारी छ। जारी छलफलमा नेपाली कांग्रेस र नेकपा एमालेले पदाधिकारी तहका नेता पठाएनन्।
छलफलमा कांग्रेसको तर्फबाट प्रवक्ता डा प्रकाशरण महतमात्रै सहभागी छन्। उता नेकपा एमालेबाट महेश बर्तौला र युवा संघका अध्यक्ष रहेका क्षितिज थेबे सहभागी छन्।
आजको छलफल फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको वातावरण बनाउनेमा केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा कांग्रेस र एमालेले पदाधिकारी तहका नेता नपठाएर प्रधानमन्त्रीले आह्वान गरेको छलफललाई प्राथमिकता नदिएको देखिन्छ।
उता नेकपा माओवादी केन्द्रले भने नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र माधव सापकोटालाई पठाएको छ। त्यस्तै राप्रपाले पनि महामन्त्री राजेन्द्र गुरुङ र प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठ सहभागी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपसभापतिसहित २ जना पठाएको छ। रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र नेत्री निशा डाँगी सहभागी छिन्।
जनमतबाट वसन्त कुशवाह, जसपाबाट प्रकाश अधिकारी र दीपक कार्की सहभागी छन्।
Shares

प्रतिक्रिया