राजनीति


आन्दोलन गरेर हटाउने प्रसंग निकालेपछि स्वागत नेपालसँग झोक्किए प्रधानन्यायाधीश

आन्दोलन गरेर हटाउने प्रसंग निकालेपछि स्वागत नेपालसँग झोक्किए प्रधानन्यायाधीश

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १७:२, काठमाडौँ

संसद् विघटनविरुद्ध बहस गरिरहेका अधिवक्ता स्वागत नेपालसँग प्रधानन्यायाधीश झोक्किएका छन्। बुधबार संवैधानिक इजलासमा बहस गर्ने क्रममा स्वागत नेपालले वकिलले आन्दोलन गरेर प्रधानन्यायाधीशलाई हटाएर अर्को नियुक्त गर्न सक्ने प्रसंग निकालेपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत रिसाएका हुन्। 

स्वागत नेपाललाई बहसको सुरुमै धेरै प्रसंग पहिल्यै आइसकेको भन्दै पछिल्लो समय विस्तार भएको मन्त्रिपरिषद्को विषयमा (अनिल सिन्हा मन्त्री बन्न मिल्ने वा नमिल्ने) बहस गर्न इजलासले भनेको थियो। 

नेपालले प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि काम गर्न नपाउने गरी अन्तरिम आदेश जारी गर्नु पर्ने बताए। न्यायाधीशले सोधे, ‘सरकारले कुनै पनि काम गर्न नपाउने गरी अन्तरिम आदेश जारी गरे सरकारबिहिनताको अवस्था हुँदैन?’

‘म आउँछु श्रीमान’, स्वागत नेपालले जवाफ दिँदै थपे,‘राज्यका चारवटा तत्वमध्ये सरकार एउटा हो। यो स्थितिमा संविधान रक्षा गर्नु पर्ने स्थितिमा राष्ट्रपति हुनुहुन्थ्यो? यो प्रश्नको जवाफ इजलासले दिनुपर्छ।’

न्यायाधीशले त्यसको निरुपण पछि गर्नु पर्ने कि अहिले नै भन्दै सोधेपछि स्वागत नेपालले अहिले नै अन्तरिमबाटै भन्दै जवाफ दिएका थिए। 

‘सबैभन्दा पहिले अदालतले के कुरालाई नोटिसमा लिनुपर्छ भने संविधानमाथिको खतरा आन्दोलनकारीबाट थिएन। आन्दोलनकारीले हामी संविधानको रक्षा गर्न उभिएका हौँ भनेका छन्। आन्दोलनकारीले संविधानलाई खतरा देखाएका थिएनन्। संविधानको खतरा देखाएर संविधान बाहिरबाट प्रधानमन्त्री किन नियुक्त गरियो?’, स्वागत नेपालले प्रश्न गरे, ‘यस्तै परिस्थितिमा परीक्षा हुने हो राष्ट्रपतिको, प्रधानमन्त्रीको श्रीमान्।’ 

उनले त्यसपछि अदालत खासगरी इजलासलाई नै केन्द्रित गर्दै उदाहरण दिन थाले। ‘श्रीमान् यो इजलासले यो स्वीकार गर्नुपर्छ, वकिलहरुले भोलि आन्दोलन गरे भने प्रधानन्यायाधीशलाई सिधै हटाएर भोलि अर्को प्रधानन्यायाधीश ल्याउन सक्नुहुन्छ’, नेपाल थप्दै थिए, न्यायाधीशले बिचैमा रोके।

‘विद्वान जी सुन्नुस्। यो इजलासले के स्वीकार गर्नुपर्छ भनेर तपाईं बहसगर्दा इंकित गर्ने कुरामा तपाईंले हेक्का राखेर बहस गर्नुस्। अर्को पटकबाट यस्तो कुरा नगर्नुस्। तपाईंभन्दा धेरै पहिल्यैदेखि यो बेन्च त सुनुवाइ गरेर बसेको हो नि, त्यसका कारण तपाईं हेक्का राखेर आफ्नो कुरा राख्नुस्’, प्रधानन्यायाधीश राउतले भने। 

‘श्रीमान्‌बाट समय बक्स हुन्छ भने म लामो समय लिएर यस कारण यो इजलासले यो मान्नुपर्छ भनेर बहस गर्छु’, स्वागतले फेरि थपे। 
‘इजलासलाई कसरी व्यवस्थिगत गर्ने, कसरी बहसलाई विषयमा केन्द्रीत गर्ने, इजलास समक्ष कसरी कुरा राख्ने तपाईंलाई थाहा छ?’, झोकिँदै राउतले सोधे। 

त्यसपछि स्वागत नेपालले माफी चाहन्छु भन्दै ब्याख्या गर्ने समय नभएको भन्दै छोटो बहस गरेर बिदा भए। तर उनले अन्तिममा पनि प्रधानन्यायाधीशको प्रसंग जोडिछाडे। 

‘संविधानको रक्षा गर्न जरुरी भयो भनेर प्रधानमन्त्रीलाई हटाएर राष्ट्रपतिले अर्को नियुक्त गर्ने विज्ञप्ति जारी गर्नु भएको थियो। त्यसैगरी प्रधानन्यायाधीशलाई हटाएको विज्ञप्ति जारी गर्नु भयो भने त्यो संवैधानिक हुन्छ कि हुँदैन,' नेपालले भने, 'अहिलेको प्रधानमन्त्री नियुक्ती संवैधानिक हो भन्ने हो भने त्यो पनि संवैधानिक छ भनेर मान्नु पर्ने स्थिति हुन्छ मैले इजलास समक्ष यो निवेदन गर्न चाहेको हो।’ 
रिट निवेदकका तर्फबाट बहस सकिएको छ। अब इजलासले आदेश जारी गर्न बाँकी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad