नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग गर्न लागेको एकताप्रति असहमति जनाएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि नगरी माओवादीसँग एकता गर्नु उपयुक्त नहुने बताएका हुन्।
बुधबारबाट सुरु हुन लागेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामीले एमालेसँग विद्रोह किन र के कारणले गर्याैँ भन्ने कुरा खोज्नुपर्छ। अहिले पनि सबै वामपन्थी एकताबद्ध हुनुपर्छ भन्नेमै म छु। तर, दुईवटा वामपन्थी मात्रै एक भएर हुँदैन।’
उनले पार्टी एकता कुनै खेलाँची विषय नभएको तर्क गरे। बरु अहिले माओवादीसँग कार्यगत एकता गर्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष माधव नेपालसहितका नेताहरू तत्काल माओवादीसँग एकता गर्नुपर्नेमा पक्षमा रहे पनि सम्मानित नेता खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरू त्यसको विपक्षमा देखिएका छन्।
माओवादीसँग एकताका लागि औपचारिक निर्णय लिने उद्देश्यले एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु भएको हाे।
काठमाडौँको सुकेधारास्थित एक पार्टी प्यालेसमा शुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालहितका संस्थापन पक्षका नेता माओवादी केन्द्रसँगको पार्टी एकताको लागि औपचारिक निर्णय गर्ने योजनामा छन्।
Shares

प्रतिक्रिया