राजनीति


रविले ‘जेल बसेर सभापति छाड्दिनँ’ भनेपछि अड्कियो रास्वपामा बालेन–कुलमान मिसाउने प्रयास

गोपी हमालदेखि सुदन गुरुङसम्म छलफलमा
रविले ‘जेल बसेर सभापति छाड्दिनँ’ भनेपछि अड्कियो रास्वपामा बालेन–कुलमान मिसाउने प्रयास

सागर न्यौपाने
कात्तिक ९, २०८२ आइतबार २२:२०, काठमाडौँ

नेतृत्वको विषयमा सहमति नजुट्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, कुलमान घिसिङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल र जेन–जी प्रतिनिधि सुदन गुरुङलाई मिलाएर एउटै दल बनाउने गृहकार्य अलपत्र परेको छ। झण्डै तीन हप्तादेखि विभिन्न चरणमा निरन्तर छलफल भए पनि पार्टी प्रमुख को बन्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन।

आगामी फागुन २१ गतेको लागि तय भएको चुनावका लागि नयाँ दल नखोल्ने, बरु रास्वपामै मिसिएर लड्न सबै सहमत भइसकेका छन्। 

‘रास्वपा, कुलमान, बालेन, गोपी, जेनजीका समूह, विवेकशील र पुराना पार्टीका पनि केही राम्रा व्यक्तिहरू मिलाएर एउटै शक्ति बनाउन लगभग समझदारी बनिसकेको छ,’ छलफलमा सक्रिय एक नेताले भने, ‘दलको नाम रास्वपा नै राख्ने सहमति पनि छ। तर, केही सर्तमा कुरा मिलिसकेको छैन।’

रवि लामिछाने नभए रास्वपा नचल्ने कुरामा यी सबै एकमत छन्। त्यही भएर रविलाई पार्टीमा सम्मानजनक सहभागिता गराउन पनि उनीहरू तयार छन्।

तर, रास्वपा सभापति रवि लामिछानेमाथि मुद्दा चलेकोले किनारा नलागेसम्म कार्यकारी भूमिकामा नबस्न उनीहरूले आग्रह गरेका छन्। 

रविलाई संरक्षक वा सर्वाेच्च नेता बस्न आग्रह गरिएको छ। तर, कार्यकारी भूमिका छाड्न रवि तयार भएका छैनन्। मुख्य अड्को त्यही भएको छलफलमा रहेका अर्का नेताले बताए।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा रवि एक वर्षदेखि कारागारमा छन्। 

सबैलाई समेट्नको लागि रविलाई केही समय कार्यकारी जिम्मेवारीमा नरहँदा राम्रो हुन्छ भनेर बालेनका सहयोगी कुमार बेनदेखि हामी नेपाल अभियानका संयोजक सुदन गुरुङ लगायतले सुझाव दिएका छन्। 

‘तपाईंलाई पार्टीबाट हटाउन खोजेका होइन, तपाईंको महानताले सबैलाई समेट्न सक्छ, अलिकति कानुनी प्रक्रिया सहज हुने अवस्था हुनसक्छ। त्यसपछि तपाईंलाई फेरि कार्यकारी सभापतिमा फर्कन कसैले रोक्दैन। तर, अहिलेलाई तपाईं नै सभापति हुँदा नयाँ आउने व्यक्तित्वलाई गाह्रो हुन्छ भनेर विभिन्न तहबाट आग्रह गरेका छौँ, त्यसमै कुरा मिलिसकेको छैन,’ ती नेताले भने।

बालेन निकट उनीहरूले उर्जामन्त्री कुलमान घिसिङलाई रास्वपाको सभापति बनाउन प्रस्ताव गरेका छन्।

त्यसो हुँदा पार्टी सर्वस्वीकार्य बन्ने र नेतृत्वमा कुनै समस्या नहुँदा चुनावमा आरामदायी बहुमत ल्याउन सकिने उनीहरूको बुझाइ छ।  

‘दसैँपछाडि कुमार बेन नख्खु कारागार पुगेर सभापतिसँग भेट गर्नुभएको रहेछ, उहाँले मिलेर जाऊँ भनेर प्रस्ताव राख्नुभएको छ,’ भेटबारे रास्वपाका एक नेताले भने, ‘रवि संरक्षक बस्नुपर्‍यो, कुलमानलाई सभापति बनाउनुपर्‍यो भनेर प्रस्ताव पनि राख्नुभएछ। यसरी जाँदा सबै मिल्न सकिन्छ। ठूलो पार्टी पनि बन्छ र चुनावमा तीन दललाई सजिलै पराजित गर्न सकिन्छ।’

रास्वपा छोडेर बसेकी सुमना श्रेष्ठ, फिल्म निर्देशक निश्चल बस्नेत, केही कलाकारहरू पनि रवि कार्यकारी भूमिकामा नरहे यही पार्टीबाटै चुनाव लड्न सकिने पक्षमा छन्। 

यो प्रस्तावमा रवि नकारात्मक नभए पनि उनका नजिकका व्यक्तिका कारणले समस्या देखिएको वार्तामा संलग्नहरू बताउँछन्। 

रास्वपाबाहेक अन्य दल बनेमा नयाँनयाँ दल जुध्दा भोट बाँडिने र त्यसले पुरानै दललाई फाइदा पुग्ने वार्तामा सहभागी नेताहरूको राय छ।

‘कुलमानको लिडरसिपमा रास्वपा चुनावमा जानुपर्छ भनेर प्रस्ताव गरिएको छ, यसमा सहमति जुटिसकेको छैन,’ अर्का एक नेताले भने, ‘बल रास्वपाको कोर्टमा आएर अड्किएको छ। यो हाम्रो प्रयास सफल नभए राष्ट्रिय राजनीति नै अर्कै होला जस्तो छ। कात्तिक १५ गतेसम्म हेरौँ, सबैलाई नसमेट्ने हो र रास्वपाले नै अड्काउने हो भने त अर्काे शक्ति बन्छ। जेनजी, बालेन लगायत अर्काे दल बनाउन जान्छन्।’

प्रस्ताव लिएर भेट्न पुगेका कुमार बेन लगायतसँग रविले आफ्नो मुद्दाको किनारा लगाउन भइरहेका प्रयासबारे चासो राखेका थिए।

‘मप्रति अन्याय भएको छ, सरकारले मलाई निकाल्दिनुपर्‍यो नि,’ रविको भनाइ छ, ‘मेरो मुद्दा छिटोभन्दा छिटो राफसाफ हुनुपर्छ। केपी ओलीसँग सबैभन्दा बढी लड्ने व्यक्ति मै हुँ। जेनजीभन्दा बढी म लडेको छु। ठूलो पार्टी बनाउने कुरामा म जे गर्न पनि तयार छु। तर, कारागारभित्र बसेर सभापति छोड्ने कुरा न्यायोचित भएन।’ 

अहिलेकै अवस्थामा तत्काल रविलाई कारागारबाट निकाल्न गाह्रो हुने बालेन–कुलमान निकटहरूको बुझाइ छ। 

तथापि, अझै केही दिन रास्वपासहित विभिन्न शक्ति मिलाउन लागि प्रयास गर्ने यस कार्यमा संलग्न रहेकाहरूले नेपालखबरलाई बताए।

रास्वपाका सहमहामन्त्री गणेश पराजुलीले पनि विभिन्न पक्षसँग सहकार्यको विषयमा छलफल भइरहेको बताए। कांग्रेस, एमाले र माओवादीको विरासत तोड्न पनि मिल्नैपर्ने निष्कर्ष निकालेको उनको भनाइ छ।

‘एउटै मुद्दा बोकेका साथीहरू, सहकार्मीहरू सँगसँगै जानको लागि रास्वपाले सबै वातावरण तयार पारेको छ, हामी संवाद गरिरहेका छौँ,’ पराजुलीले नेपालखबरसँग भने, ‘कति कुरा सकारात्मक छन्, कतिमा नतिजा आइसकेको छैन।’

‘संवाद सबै तहमा भइराखेको छ, तर रास्वपाले फराकिलो छाती बनाइदिओस् भन्नेमा जोड दिनुभएको छ, यसमै निचोडमा पुगिसकेका छैनौँ,’ पराजुलीले थपे, ‘कयौँ माग हुन्छन्, हामी निर्वाचन केन्द्रित भइरहेका छौँ, लचकता देखाउन पर्ने छ। तर रास्वपा पार्टी हो, अरु व्यक्ति हो। ठूलोले सानालाई समेट्ने हो जहिले पनि।’

कुलमान घिसिङ लगायत नयाँ शक्ति बनाउने यो अभियानमा जोडिएका सबै रास्वपासँग प्रत्यक्ष संवादमा रहेको उनले बताए।

जेनजीका प्रतिनिधि मध्येका पुरुषोत्तम यादवले पनि रास्वपा, कुलमान, बालेन्द्र लगायतलाई एकै ठाउँमा मिलाउने प्रयास भइरहेको बताए। 

तर, यस विषयमा रास्वपाका सबै नेता सकारात्मक भने छैनन्। रवि लामिछानेलाई सभापति छाड्न लगाएर बाहिरबाट आएकालाई सुम्पिने पक्षमा आफूहरू नरहेको रास्वपाका एक केन्द्रीय सदस्य ठोकुवा गर्छन्।

‘रास्वपाले सभापति छोडेर अर्को व्यक्तिलाई भित्र्याउँदैन,’ उनले भने, ‘सभापतिको बार्गेनिङ गरेर उपसभापति लिने दाउ हुनसक्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad