प्रधानमन्त्री सुशीला कार्कीले थप ४ मन्त्री नियुक्तिका लागि आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नाम सिफारिस गरेकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्री बनाउन गणपतिलाल श्रेष्ठ, सुधा गौतम, बब्लु गुप्ता र खगेन्द्र सुनारको नाम राष्ट्रपतिको कार्यालय पठाइएको हो।
यसैबीच यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भनिएका गणपतिलाललाई भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
अन्यमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्दै छन्।
उनीहरूलाई आजै दिउँसो साढे २ बजे शीतल निवासमा पदको शपथ खुवाउने कार्यक्रम छ।
आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ। यसअघि मन्त्रिमण्डलमा ८ सदस्य छन्।
जसमा कार्की प्रधानमन्त्री, रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकासमन्त्री र जगदीश खरेल सूचना तथा सञ्चारमन्त्री छन्।
Shares

प्रतिक्रिया