ad ad

राजनीति


अमेरिका–चीनबीचको डब्लूएचओ विवादले अन्तिम क्षणमा यसरी रोकियो जी–२० नेताहरुको शिखर कन्फ्रेन्स

अमेरिका–चीनबीचको डब्लूएचओ विवादले अन्तिम क्षणमा यसरी रोकियो जी–२० नेताहरुको शिखर कन्फ्रेन्स

एससीएमपी
बैशाख १३, २०७७ शनिबार ११:५२,

शुक्रबारका लागि तय भएको जी–२० देशका नेताहरुको भिडियो कन्फ्रेन्स चीन र अमेरिकाबीचको तिक्ततापूर्ण झगडाका कारण अन्तिम क्षणमा आएर रोकिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को भूमिकाप्रति दुई शक्ति राष्ट्रबीच विवाद भएपछि अन्तिम तयारी गरिएको भिडियो कन्फ्रेन्स रोकिएको, स्रोतहरुले बताएका छन्।

एक अधिकारीका अनुसार अमेरिकाले कोरोना भाइरस महामारीको सुरुका गतिबिधिप्रति डल्लूएचओलाई जिम्मेवार ठहर्‍याउनु पर्छ भन्ने कुरामा जोड दिइरहेको छ। सो महामारीका कारण संसारभर १ लाख ९० हजार र अमेरिकामा मात्र झन्डै ५० हजार मानिसको ज्यान गइसकेको छ।

चीनले भने डब्लूएचओमाथि नै छानविन गर्ने प्रस्तावको कडा प्रतिबाद गरेको छ।

‘भिडियो कन्फ्रेन्स अन्तिम क्षणमा पुगेर स्थगित गरिएको हाे,’ स्रोतहरुले बताएका छन्।

त्यसो त, डब्लूएचओसम्बन्धी विषय र जी–२० को संयुक्त बक्तव्यमा डब्लूएचओबारे उल्लेख गरिने भाषाबारे दुई पक्षबीच एउटा समझदारी हुनासाथ त्यस्तो कन्फ्रेन्स छिटै हुनसक्ने बताइएको छ।

मन्त्रिस्तरीय भिडियाे कन्फ्रेन्सहरु गरेपछि प्रस्तावित भिडियो कन्फ्रेन्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी हुने तय भएको थियो।

जी–२० आयोजक समितिले भने भिडियो कन्फ्रेन्सबारे सोधिएको इमेलको जवाफ तत्काल दिएको छैन। हाल जी–२० समूहको अध्यक्षता साउदी अरेबियाले गर्छ।

‘डब्लूएचओलाई दिँदै आएको आर्थिक सहायता रोकेर कोरोना भाइरसको समस्यामा कमजोर नेतृत्व देखाएको अमेरिकाले त्यसको दोष चीनलाई थोपर्न खोजेको चीनको बुझाई छ,’ सांघाईस्थित फुदान युनिभर्सिटीका अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक सेन दिङलीले बताए, ‘तर, अमेरिकाले भने डब्लूएचओ चीनप्रति ढल्केको र कोरोनाका कारण अमेरिकामा भएको ठूलो क्षतिप्रति चीन जिम्मेवार हुनुपर्ने दाबी गरेको छ।’

चीन–अमेरिका सम्बन्ध तीब्ररुपमा बिग्रँदै गएको र यो अत्यन्त चिन्ताजनक स्थिति भएको उनको बुझाई छ।

‘भविष्य अझ चिन्ताजनक देखिन्छ,’ दिङलीले भने।

G20 ministersगत मार्चमा गरिएकाे जी २० काे मन्त्रीस्तरीय भिडियाे कन्फ्रेन्स

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच कोरोना भाइरसबारे गत मार्च २६ मा पहिलो भिडियो कन्फ्रेन्समा कुराकानी भएको थियो।

त्यतिबेला उनीहरुले यो महामारीलाई परास्त गर्न आवश्यक सबै कुरा गर्न तयार हुँदै विश्व अर्थतन्त्रलाई सहयोग पुर्‍याउन ५० खर्ब अमेरिकी डलरको प्याकेज घोषणा गर्न सहमत भएका थिए।

त्यसपछि डब्लूएचओको विषयलाई लिएर बेइजिङ र वाशिंगटनबीच विवाद उब्जियो। ट्रम्पले यो भाइरससम्बन्धी चीनले गलत सूचना सम्प्रेषण गर्दा डब्लूएचओले उसलाई झन् सघाउ पुर्‍याएको आरोप लगाउँदै सो राष्ट्रसंघीय निकायलाई दिँदै आएको सहयोग समेत रोक्का गरेपछि यो विवाद झन् पेचिलो बन्दै गएको छ।

‘डब्लूएचओलाई अमेरिकी करदाताले बर्षेनी ४० करोडदेखि ५० करोड अमेरिकी डलर योगदान दिँदै आएका छन्। उता चीनले भने वर्षको मोटामोटी ४ करोड अमेरिकी डलर वा अझ थोरैमात्र दिँदै आएको छ,’ ट्रम्पले मंगलबार भनेका थिए, ‘त्यो संस्थाको मुख्य दाताको नाताले सबैलाई पूर्ण जिम्मेवार बनाउनुपर्ने अमेरिकाको जिम्मेवारी हो।’

त्यसपछि बिहीबार, चीनले यो महमारीसँग जुध्नका लागि डब्लूएचओलाई उसले थप ३ करोड अमेरिकी डलर प्रदान गर्ने घोषणा गर्‍यो।

पेकिङ युनिभर्सिटीमा स्कुल अफ इन्टरनेसनल स्टडिजका प्राध्यापक जिया चिङग्गुअले केहि वर्षदेखि अमेरिका–चीन सम्बन्ध बिग्रिरहेका बेला कोरोना महामारीका कारण थप तीक्ततापूर्ण भएको बताए।

‘यो महामारीमा दुई देश मिलेर सहकार्य गर्ने राम्रो अवसरको रुपमा लिनुपर्थ्याे तर अमेरिकाले चीनमाथि आरोप लगाइरहेको छ र चीनको प्रतिक्रियापछि द्वन्द्व झन् चर्किँदै गएको छ,’ उनले भने।

उनले आगामी नोभेम्बरमा ट्रम्प अमेरिकाको राष्ट्रपतिको रुपमा पुनः निर्वाचित भएमा चीन–अमेरिका सम्बन्ध थप तनावपूर्ण हुनसक्ने बताए।

नोभेम्बर २१ र २२ मा भने रियादमा जी–२० का नेताहरुको भौतिक उपस्थितिमै बैठक गर्ने तय भएको छ।

-साउथ चाइना मर्निङ पाेष्टबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .